मङ्गलवार, भदौ १६, २०८३
Sancharmanch

रास्वपा बिर्तामोडद्वारा प्रधानमन्त्री दैवी उद्धार तथा राहत कोषमा ५१ हजार सहयोग

Posted by:
सोमवार, भदौ १५, २०८३
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर समितिले प्रधानमन्त्री दैवी उद्धार तथा राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक पीडामा रहेका बेला राहत तथा उद्धारका लागि सानो–सानो सहयोग पनि महत्वपूर्ण हुने भएकाले आफ्नो तर्फबाट आर्थिक सहयोग गरिएको रास्वपा बिर्तामोड नगर सभापति दीपक दाहालले बताउनुभयो।

विपद्का बेला राजनीतिक विषयभन्दा पनि मानवीय सहयोग प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस गर्दै राहत कोषमा रकम जम्मा गरिएको नगर सचिव श्रीजन अधिकारीले जानकारी दिनुभयो। उहाँले संकटको समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो।

देशमा आइपरेको विषम परिस्थितिमा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन राज्यसँगै राजनीतिक दल, सामाजिक संघ–संस्था तथा नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। सोही भावनाअनुसार पार्टीको नगर समितिले राहत कोषमा सहयोग गरेको जनाइएको छ।

रास्वपा बिर्तामोड नगरपालिका वडा नं. ४ का सभापति लक्ष्मी खरेलले पार्टीले अघि सारेको ‘जहाँ अभर, त्यहाँ रास्वपाको भर’ भन्ने नारालाई व्यवहारमै सार्थक बनाउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

उहाँले विपद्का बेला पीडित नागरिकको पक्षमा उभिनु राजनीतिक प्रतिस्पर्धाभन्दा माथिको विषय भएको उल्लेख गर्दै मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। देशका नागरिक दुःखमा रहेका बेला सबैले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।

राहत कोषमा जम्मा गरिएको रकम विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ। रास्वपा बिर्तामोड नगर समितिले आफ्नो क्षमताअनुसार विपद्का समयमा सहयोग र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

विपद्का बेला सरकारको राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन नागरिकस्तरबाट हुने सहयोगले समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले अन्य संघ–संस्था तथा नागरिकलाई पनि सहयोगका लागि प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ।

रास्वपा बिर्तामोड नगर समितिका पदाधिकारीका अनुसार राजनीतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारी हो। विपद्को समयमा पीडितको साथमा उभिँदै मानवीय सहयोगको भावना विस्तार गर्न आफूहरू निरन्तर सक्रिय रहने उनीहरूको भनाइ छ।

सम्बन्धित खबर