आइतवार, भदौ ७, २०८३
Sancharmanch

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्वाचन क्षेत्र दमकमा १५ सयभन्दा बढीको प्रदर्शन

Posted by:
आइतवार, भदौ ७, २०८३
दमक, झापा / बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्वाचन क्षेत्र झापा-५ अन्तर्गत पर्ने दमकमा  १५ सयभन्दा बढीको सहभागितामा प्रदर्शन तथा दीप प्रज्वलन गरिएको छ। मेची-महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको र्‍यालीमा सहभागीहरूले बालिका गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। र्‍याली दमक बजारका विभिन्न स्थान परिक्रमा गर्दै दमक चोकमा कोण सभा कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले, जिल्ला अध्यक्ष गंगा भट्टराई, कमल गाउँपालिका उपशाखा संयोजक चन्द्रकला सुब्बा र दमक उपशाखा सचिव सुमन भुर्तेल लगायतको उपस्थिति रहेको थियो। प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराध अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने र पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। र्‍यालीमा सहभागीहरूले ‘गरिमा चौधरीलाई न्याय देऊ’, ‘बालबालिकामाथिको हिंसा बन्द गर’, ‘दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाउँदै न्यायको पक्षमा आवाज उठाएका थिए। कार्यक्रमको अन्त्यमा गरिमा चौधरीको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलनमार्फत सहभागीहरूले बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।
सम्बन्धित खबर