बिर्तामोड, झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ आनन्दगजस्थित रुपेश्वर शिवपञ्चायन मन्दिरले ज्येष्ठ नागरिकका लागि तीर्थयात्रा कार्यक्रम आयोजना गरेको छ ।

मन्दिर व्यवस्थापन समितिले आफ्नै लगानीमा आयोजना गरेको कार्यक्रममा १५० भन्दा बढी ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले आफू पनि लामो समयसम्म आनन्दगज क्षेत्रमा बसोबास गरेको तथा हालसम्म पनि यस क्षेत्रमा आफ्नो खेती रहेको उल्लेख गर्दै धार्मिक तथा सामाजिक गतिविधिले समुदायमा सकारात्मक ऊर्जा थप्ने बताउनुभयो ।

रुपेश्वर शिवपञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार प्रसाईले मन्दिरले आफ्नै स्रोतबाट तीर्थयात्रा कार्यक्रम आयोजना गरेको जानकारी दिँदै मन्दिरको विकास तथा सामाजिक गतिविधिमा विभिन्न व्यक्ति र शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले मन्दिर व्यवस्थापन समितिले धार्मिक गतिविधिसँगै समाज रूपान्तरणका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको र त्यसको सकारात्मक परिणाम देखिन थालेको धारणा राख्नुभयो ।

कोशी प्रदेशसभा सदस्य गोपाल गजमेरले हिन्दु राज्य स्थापनाका लागि आफूले पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीर्थयात्रा बिर्तामोड नगरपालिका वडा नं. ४ बाट सुरु भई शिवसताक्षी नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिकस्थल सतासीधामसम्म पुगेको थियो।

यद्यपि प्रतिकूल मौसमका कारण शिवसताक्षी नगरपालिकाभित्र रहेका माइधार र कोटीहोम क्षेत्रको भ्रमण भने सम्पन्न गर्न नसकिएको आयोजकले जनाएको छ ।

शनिबार आयोजित तीर्थयात्राका लागि बिर्तामोड नगरपालिका वडा नं. ४ मा सञ्चालित वेल्स मोडेल विद्यालयले विद्यालयको विदाको अवसर पारेर यातायात व्यवस्थापनमा सहयोग गरेको थियो ।

धार्मिक आस्था, सामाजिक सद्भाव र ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई केन्द्रमा राखेर आयोजित यस तीर्थयात्राले सहभागीहरूमा आध्यात्मिक ऊर्जा थप्नुका साथै समुदायमा सामाजिक एकता र सेवाभावको सन्देश प्रवाह गरेको छ ।