आइतवार, असार २८, २०८३
Sancharmanch

श्रमदानबाट बनेको बाँसको पुल, अर्जुनधारामा श्रम संस्कृतिको प्रेरणादायी अभियान

Posted by:
आइतवार, असार २८, २०८३
अर्जुनधारा, झापा / श्रम संस्कृति पार्टीले देशभर सञ्चालन गरिरहेको ‘हरेक हप्ताको एक दिन श्रमदान’ ६ दिन पेटको लागि १ दिन देशको लागि अभियानअन्तर्गत झापाको अर्जुनधारा नगरपालिकामा पनि श्रमदानका कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। सोही अभियानअन्तर्गत गत शनिबार अर्जुनधारा नगरपालिका वडा नं. ६ र ८ को सीमामा पर्ने खहरे पैनीमा स्थानीय नागरिकको आवतजावत सहज बनाउन बाँसको पुल निर्माण गरिएको छ। करिब २ सय जना श्रमदाताको सक्रिय सहभागितामा पुल निर्माण गरिएको हो। श्रम संस्कृति पार्टी अर्जुनधारा नगरपालिकाका अध्यक्ष सुजन शिवाकोटीले हरेक शनिबार श्रमदान अभियान सञ्चालन हुँदै आएको बताउँदै स्थानीय आवश्यकता अनुसार सामुदायिक हितका कार्यलाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो। अर्जुनधारा–६ की स्थानीय दुर्गाकुमारी राईले वर्षायाममा बालबालिकालाई विद्यालय तथा ट्युसन जान निकै कठिनाइ हुने गरेको उल्लेख गर्दै श्रम संस्कृति पार्टीको श्रमदान अभियानमार्फत बाँसको पुल निर्माण भएपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको बताउनुभयो। श्रम संस्कृति पार्टी अर्जुनधारा नगर कमिटीका सह–कोषाध्यक्ष सञ्जोगी चेम्जोङले पार्टीको केन्द्रीय नीतिअनुसार प्रत्येक शनिबार श्रमदान अभियान सञ्चालन हुँदै आएको बताउँदै श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। अर्जुनधारा नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमबारे नगर कमिटीकी उपाध्यक्ष मेयर मगरले श्रमदानमार्फत स्थानीय आवश्यकता सम्बोधन गर्ने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो। श्रमदानबाट निर्माण गरिएको यो बाँसको पुलले स्थानीयवासीको आवतजावत सहज बनाएको मात्र होइन, सामूहिक श्रम, सामाजिक एकता र नागरिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको छ।
सम्बन्धित खबर