आइतवार, जेठ १७, २०८३
Sancharmanch

‘बर्खाको सम्झनामा मदनको संकल्प’ : बुद्धशान्तिमा २१ किलोमिटर मिनि म्याराथन हुँदै

Posted by:
आइतवार, जेठ १७, २०८३
झापा, बुद्धशान्ति / झापाको बुद्धशान्ति गाउँपालिकामा पहिलोपटक २१ किलोमिटर दूरीको मिनि म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आगामी श्रावण १९ गते मंगलबार प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको छ । प्रतियोगिताको तयारी, उद्देश्य तथा व्यवस्थापनबारे जानकारी दिन प्रतिष्ठानले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा आयोजक पक्षले प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाको खेलकुद विकास तथा सामाजिक सक्रियताको दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा अघि सारिएको जनाएको छ । स्वास्थ्य, खेलकुद र सामाजिक चेतनालाई एकसाथ जोड्दै युवापुस्तालाई सकारात्मक गतिविधिमा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । आयोजकका अनुसार प्रतियोगिताको सुरुवात बुद्धशान्ति गाउँपालिका कार्यालय अगाडिबाट हुनेछ । निर्धारित रुटअनुसार धावकहरू बुद्धशान्तिकै हडिया खोला पुलचोक हुँदै वडा नम्बर ४ मंगलबारे, बर्ने चिया कमान, मदन भण्डारी राजमार्ग, होक्से तथा जयपुर क्षेत्र पार गर्दै पुनः गाउँपालिका कार्यालय अगाडि आएर दौढको यात्रा सम्पन्न गर्नेछन् । करिब २१ किलोमिटर दूरीको रुट तय गरिएको यो प्रतियोगिता बुद्धशान्तिका लागि नयाँ र महत्वाकांक्षी खेलकुद कार्यक्रमका रूपमा हेरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । बर्खा मेमोरियल ट्रष्ट तथा बर्खा स्मृति प्रतिष्ठानको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । यसले विभिन्न स्थानका खेलाडीलाई सहज रूपमा सहभागिता जनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । यस प्रतियोगितामा नेपाल बाहिरका खेलाडिहरुले समेत सहभागिता जनाउन सक्ने बताइएको छ । https://www.facebook.com/BarkhaMemorialTrust बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले २१ किलोमिटर दूरीको हाफ म्याराथन बुद्धशान्तिका लागि पहिलो प्रतियोगिता भएको बताउँदै यसले खेलकुद गतिविधिलाई संस्थागत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै गाउँपालिकालाई खेल पर्यटनको सम्भावना बोकेको क्षेत्रका रूपमा चिनाउन मद्दत पुग्ने धारणा राख्नुभयो । बर्खा स्मृति प्रतिष्ठान स्थापना पछाडिको कथा पनि भावनात्मक रहेको छ । प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईकी धर्मपत्नी बर्खा प्रसाईको अमेरिकामा कार दुर्घटनामा निधन भएपछि उहाँको सम्झनालाई चिरस्थायी बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो । व्यक्तिगत पीडालाई सामाजिक सेवामा रूपान्तरण गर्दै मदन प्रसाईले बर्खाको स्मृतिलाई समाजसेवा, स्वास्थ्य, शिक्षा तथा खेलकुदसँग जोड्ने प्रयास गरेको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्तित्व तथा सहयोगी संस्थाबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । बुद्धशान्तिकै स्थानीय हाल अमेरिकामा रहनुभएका कञ्चन सुवेदीबाट पुरस्कार व्यवस्थापनमा सहयोग प्राप्त भएको छ भने प्रथम पुरस्कारका लागि धिरज खड्का, दोस्रो पुरस्कारका लागि मोच्चे ग्रुप बुद्धशान्ति, तेस्रो पुरस्कारका लागि हाल अमेरिकामै रहनुभएका रमेश बस्नेत तथा चौथो र पाँचौँ पुरस्कारका लागि लक्ष्मी सनराइज बैंक र क्यानडामा रहनुभएका जेनिश प्रसाईबाट सहयोग प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट पाँच विजेताका लागि जीवन बीमासमेत गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागी हुने धावकका लागि विभिन्न व्यवस्थापन सेवामा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको बताइएको छ । यसले सहभागीलाई थप सहजता र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा खेलकुद विकास समितिका अध्यक्ष पर्शुराम चेम्जोङले खेलकुद र सामाजिक विकासका क्षेत्रमा प्रतिष्ठानले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र तथा सामाजिक संस्थाको पहलले गाउँपालिकामा खेलकुद संस्कृति विकास हुँदै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । संस्थाका सचिव मदन मगरले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा झापामा क्रियाशील सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा कन्टेन्ट क्रिएटरहरूको उपस्थिति रहेको थियो । आयोजकले प्रतियोगितालाई केवल दौड प्रतियोगितामा सीमित नराखी स्वास्थ्य, अनुशासन, सामाजिक एकता र सकारात्मक सन्देश प्रवाह गर्ने अभियानका रूपमा अगाडि बढाइने जनाएको छ । समग्रमा, बुद्धशान्तिमा आयोजना हुन लागेको २१ किलोमिटर मिनि म्याराथन प्रतियोगिता स्थानीय तहमा खेलकुद विकास, स्वास्थ्य चेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ । यसले युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै बुद्धशान्तिलाई खेलकुद गतिविधिको नयाँ केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर