झापा / झापाका सामाजिक अभियन्ता तथा व्यवसायी मिलन अधिकारी र माधव घिमिरे ले आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्थामा रहेका एक अशक्त व्यक्तिलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गर्नुभएको छ । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ दुर्गाभिट्टा निवासी लिखिराम हास्दालाई आवश्यक रासन सामग्रीसहित नगद सहयोग गरिएको हो ।

स्थानीयका अनुसार कुष्ठरोगका कारण शारीरिक अशक्तता भोगिरहेका लिखिराम हास्दाको पारिवारिक अवस्था अत्यन्त कमजोर रहेको छ । परिवार तथा नजिकका आफन्तको साथसमेत नपाएका उहाँ विगत लामो समयदेखि अरूकै जग्गामा अस्थायी रूपमा बसोवास गर्दै आएको बताइएको छ । करिब तीन दशकदेखि स्थायी बसोवासको अभाव झेल्दै आउनुभएका लिखिरामसँग आफ्नै नाममा जग्गाजमिन नभएको स्थानीयले बताएका छन् ।
जीवन निर्वाहका लागि विगतमा काठको हलो बनाउने काम गर्दै आएका लिखिराम अहिले भने श्रम गर्न असमर्थ बन्दै गएकाले दैनिक जीविकोपार्जनमै समस्या झेल्न बाध्य भएको बताइएको छ । शारीरिक अवस्था कमजोर बन्दै जाँदा बिहान–बेलुकाको छाक टार्नसमेत कठिनाइ भइरहेको जानकारी पाएपछि अधिकारी र घिमिरेले व्यक्तिगत खर्चबाट राहत सहयोग गरेको जनाइएको छ ।

लिखिराम बस्दै आएको टहरा पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको स्थानीयको भनाइ छ । टिनले बेरिएको र बाँसका खाम्बामा अडिएको अस्थायी संरचनामा बस्दै आएका उहाँको बासस्थान हावाहुरी तथा वर्षायाममा थप जोखिममा पर्ने गरेको बताइएको छ । वर्षा र तेज हावाको समयमा बसोवासमै समस्या हुने अवस्थाले उहाँको दैनिकी थप कष्टकर बनेको स्थानीयले उल्लेख गरेका छन् ।
सहयोगपछि बोल्दै मिलन अधिकारी र माधव घिमिरेले समाजमा राज्यको पहुँच बाहिर परेका तथा विपन्न अवस्थामा रहेका व्यक्तिलाई सहयोग गर्नु सामाजिक दायित्व भएको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले लिखिरामजस्ता समस्यामा रहेका नागरिकको जीवनस्तर सुधारका लागि सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई पनि साथ दिन आग्रह गर्नुभएको छ ।
उहाँहरूले सार्वजनिक रूपमा अपिल गर्दै मानवीय संवेदनालाई प्राथमिकता दिन र असहाय नागरिकको जीवन सहज बनाउन सहयोगी भावना आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीयस्तरमा सामाजिक सहकार्य र सहयोगको संस्कार विस्तार भए यस्ता समस्यामा रहेका व्यक्तिलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता केशव लुइटेल को समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरूले राज्यको पहुँचभन्दा बाहिर परेका, अशक्त तथा विपन्न अवस्थाका नागरिकलाई सहयोग गर्नु समाजको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
व्यक्तिगत पहलमार्फत गरिएको यो सहयोगले कठिन परिस्थितिमा रहेका नागरिकप्रति समाजको जिम्मेवारीबोध र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ ।










