बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महसुल नबुझाउने उद्योगहरुको विद्युत लाइन काट्न शुरु

Posted by:
मङ्गलवार, साउन १७, २०७९

भरत प्रसाई । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले महसुल नबुझाउने उद्योगहरुको विद्युत लाइन काटेको छ । पटक पटक जानकारी गराउँदा पनि महसुल नबुझाएको कारणले लाइन काट्न बाध्य भएको अनारमनी वितरण केन्द्रले जनाएको छ । झापाभरका ५ वटा केन्द्रमध्ये अनारमनी बिर्तामोड केन्द्रबाट ८० हजार भन्दा बढी सेवाग्राहीले सेवालिँदै आएको विद्युत प्राधिकरणले जनाएको छ । ठूल्ठूला उद्योगहरुले तिर्न बाँकी महसुल नतिर्दा राज्श्वमा पनि प्रत्यक्ष असर पर्ने प्राधिकरणको भनाइ छ । साउन लागेपछि बिर्तामोडस्थित होटल डाउनटाउनको लाइन काटिएको अनारमनी वितरण केन्द्रका सूचना अधिकारी दिपक ढकालले जानकारी दिनु भयो ।

यस्तै, अनारमनी वितरण केन्द्रले बिर्तामोडको रारा चिया उद्योग, गिताञ्जली भेनियर उधोगको लाइन काटिएको जनाएको छ । यो समाचार तयार पार्दा सम्म, रारा चियाले १७ लाख ८ हजार २ सय ४६ रुपैयाँ ८७ पैसा र गिताञ्जली भेनियरले १० लाख ३५ हजार २५८ रुपैयाँ ३० पैसा महसुल बुझाउन बाँकी रहेको छ । चारपानेमा ९ लाख ८९ हजार, गोल्धापमा १४ लाख, घैलाडुब्बामा ११ लाख , डाँगीबारीमा १४ लाख , चकचकीमा १४ लाख र राजगढमा करिव १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

अनारमनी वितरण केन्द्रलाई साविकका चारपाने, घैलाडुब्बा, गोल्धाप, डाँगीबारी, चकचकीले समेत महसुल बुझाउन बाँकी रहेको छ । असार मसान्त सम्ममा ४ करोड ५१ लाख मात्रै महसुल उठेको छ भने अझै ७ करोड महसुल उठ्न बाँकी रहेको ढकालले बताउनु भयो । करीव ५२ जना कर्मचारीबाट ठूलो क्षेत्रका ग्राहकलाई सेवा प्रदान गर्दा महसुल संकलनमा जटिलता भएको सूचना अधिकारी दिपक ढकालको भनाइ छ ।

उहाँका अनुसार ६० दिनको समयसीमा दिँदा पनि बक्यैता महसुल नतिरेको खण्डमा पुन मिटरनै नपाउने गरी ब्ल्याक लिस्टमा राख्न सकिने वितरण केन्द्रको कानुनी क्षेत्रधिकार रहेको केन्द्रका सूचना अधिकारी दिपक ढकालले बताउनु भयो ।
महसुल नियमित बुझाउन नसकिएको खण्डमा पटक–पटक गरेर बुझाउने सुविधा दिइएको छ । पटक–पटक गरेर बुझाउनेहरुको लाइन काटिएको छैन । ५ लाखभन्दा माथि बक्यौता हुनेहरुलाई महसुल बुझाउन कार्यालयको तर्फबाट ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन नै काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ । तत्कालिन गाविसहरुले सडकबत्तीमा विद्युत प्रयोग गरे वापत लाखौं रुपैयाँ महसुल नबुझाएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर