शुक्रवार, मंसिर २८, २०८१
Sancharmanch

पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने झापा प्रतिनिधि दिपक गिरी

आइतवार, मंसिर २, २०८१
बिर्तामोड / नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको बैठक एवं सयदिने अभियान अन्तरर्गत जिल्ला पार्टी कार्यालयमा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम,  सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघसंस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी र जनप्रतिनिधिबीचको समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका बिषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने बताउनुभयो । ‘यसले संगठनलाई बलियो र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’–नेता गिरीले भन्नुभयो–‘अभियान सफल पार्नु हामी सबैको दायित्व हो, म नेता होइन, सहयोगी भएर आएको हुँ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले सयदिने अभियान अन्तरगत कोशी प्रदेश सम्मेलन र ‘कचनकबल–सगरमाथा यात्रा’ कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । कचनकबल–सगरमाथा यात्राका क्रममा सबै नेता कार्यकर्ता एवं जनताको सामाजिक, आर्थिक अवस्था, जनजीवन, विकास निर्माण, सांगठनिक अवस्था बुझिने र सोही अनुरुप पार्टीको नीति तथा कार्यक्रमहरु बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । अभियान अन्तरगत मंसिर २२ गते कोशी प्रदेश सम्मेलन र पुष १६ मा कचनकबल–सगरमाथा यात्रा प्रारम्भ गर्ने उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वडा तहमा खटिनुभएका जिल्ला प्रतिनिधिहरुलाई वडा, टोलसम्म पुगेर केन्द्रले लिएको नीति र अभियान अनुरुप कार्य गर्न आग्रह गर्नुभयो । वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुने बताउँदै सभापति थेवेले वडातहबाटै संगठन सुदृढीकरणमा लाग्न प्रतिनिधिहरुलाई आह्वान गर्नुभएको होे । यसैबीच सभापति थेवेले आगामी मंसिर १६ गते उपनिर्वाचन अन्तगत कनकाई वडा नम्बर ६ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार रामगोपाल ओलीलाई अत्यधिक मतले विजयी गराउन कनकाई ६ का जनसमुदायमा अपिल गर्दै उहाँको पक्षमा माहौल सिर्जना गर्न पार्टीका नेता÷कार्यकर्तालाई सहयोग गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलामा स्वागत उपसभापति केशवराज पाण्डेले, धन्यवाद ज्ञापन उपसभापति शेरबहादुर भट्टराईले र सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको सचिव नवीन विमलीले जानकारी दिनुभयो । यसैबीच पार्टीको सयदिने अभियान अन्तरगत नेपाली कांग्रेस झापाले टोलदेखि क्षेत्रस्तरसम्मका कार्यक्रम तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ मंसिर ११ गतेदेखि २२ गतेसम्म वडा र टोलसमितिको बैठकपश्चात १३१ वटै वडाको वडा भेला सम्पन्न गर्ने, मंसिर २४ गते भातृ तथा शुभेच्छुक संघसंस्थाको जिल्लास्तरीय भेला, मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म गाउँ÷नगर भेला एवं सम्मेलन,  पौष ६ गतेदेखि  १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला, कार्यक्रम तय गरिएको छ । साथै पौष १६ गते मेलमिलाप दिवसको अवसर पारेर सयदिने अभियान समापन एवं जिल्ला भेला सम्पन्न गरिने नेपाली कांग्रेस झापाले जनाएको छ ।
सम्बन्धित खबर