झापा / डेरी उद्योगीहरुले सिण्डिकेट कायमगर्ने सहमी गर्दै मनोमानीरुपमा दुधको न्युनतम समर्थन मुल्य समेत घटाएपछि ब्यवसायीक रुपमा दुध उत्पादन गर्ने कृषक मारमा परेकाछन् ।

मन्त्री परिषदले तोकेको दुधको समर्थन मूल्यमा समेत कृषकलाई घाटा हुनेगरी भुक्तानी दिने भनी डेरी ब्यवसायीले गरेको निर्णय एकलौटी भएको कृषकहरुले दावी गरेकाछन् ।

डेरी ब्यवसायीहरुले सरकारले तोकेको न्युनतम समर्थन मुल्य कायम नगरे आन्दोलन गर्ने पशुपालन तथा दुग्ध उत्पादक संघले चेतावनी दिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी दुग्ध उत्पादक संघ झापाले डेरी उद्योगहरुले एकलौटी सहमती गर्दै दुधको मुल्य घटाउदा ब्यवसायीक कृषकहरु मारमा परेको जानकारी दिइएको हो ।

सँग सँगै दुधको बजार प्रतिस्पर्धात्मक हुन नदिन डेरी ब्यवसायीहरुले दुध खरिदमा समेत सिण्डिकेट कायम गर्ने निर्णय गरेको पाइएको छ ।

जस्ले गर्दा कृषकले एकै उद्योगलाई मात्र दुध बेच्नुपर्ने बाध्यतामा पारी मनोमानी रेट कायम गरेको देखिन्छ । कोशी प्रदेश सरकारले तोकेको मुल्यमा पनि डेरी ब्यवसाय गर्ने उद्योगहरुले एकलौटी रुपमा मुल्य निर्धारण गरेको झापाका दुध उत्पादक अग्रज कृषक सुदिप गोतमले बताउनुभयो ।

मन्त्री परिषदले २०७९ फागुन १९ गते कच्चा दुध ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेपनि २०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रति लिटर ८ रुपैयाँ घटाएको पाइएको छ ।

उनीहरूले २०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएसँगै कृषकहरुलाई करोडौँको क्षति भएको कृषकहरुले गुनासो गरेकाछन् । बजारमा आउने दानाको मुल्य चाहि तुरुन्तै बढ्ने त्यसमा नत सरकारको ध्यानजाने नत डेरी एसोसिएसनले नै कुनै प्रतिकृया दिन्छ । त्यसमा पनि कृषकनै मारमा परेको झापाका अग्रज कृषक तथा दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेस थापाले बताउनुभयो ।

२०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले, २०८० कार्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरेपनि डेरी उद्योगले बेवास्ता गरिरहेकाछन् । कोशी प्रदेशमा उत्पादित दुध खपतको अवस्था हेर्दा यहाँ उत्पादित दुधले मार्केट धान्न नसक्ने अवस्था रहेको अवस्थामा पनि कृषकलाई मार्का पर्ने गरी मुल्य घटाएकोमा पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले गुनासो गर्नुभयो ।

डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै कृषकहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत माग गरेकाछन् । डेरी ब्यवसायीहरुले मिल्क होलिडे गर्नु भन्दा मुल्य घटाएको तर्क गर्ने गरेको ब्यवसायीक कृषक बद्री निरौलाले बताउनुभयो ।

अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहेपनि कोशी प्रदेशमात्र मूल्य घटाईएको छ । जस्ले गर्दा कृषक पलायन हुने अवस्था नआउला भन्न सकिन्न, डेरी ब्यवसायीहरुले मनोमानी रुपमा गरेको सिण्डिकेट र भाउ निर्धारण बाट ब्यवसायी फाम सञ्चालकहरु ठुलो घाटा ब्यहोर्न बाध्य छन् ।