झापा/ झापाको बुद्धशान्ति गाउँपालिकाले १५ औं गाउँ अधिवेशन वाट अस्पताल सञ्चालन गर्न तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण काम तथा नियमन गर्न स्वास्थ्य सेवा ऐन अनुमोधन गरेको छ ।
सोमबार गाउँपालिका कार्यालयको सभाहलमा अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको १५ औं गाउँ अधिवेशनले पासगरे सँगै विधेयक ऐनको रुपमा लागु भएको हो ।
बुद्धशान्ति गाउँपालिका विषेस गरेर जंगली हात्ति प्रभावित क्षेत्र भएका कारण नियन्त्रण गर्न सर्वप्रथम संरक्षणमा ध्यान दिनु पर्ने गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो ।
ऐन निर्माण भए पछि भागिरथा बुद्धशान्ति अस्पताल सञ्चालन तथा अन्य निजी अस्पतालहरूलाई नियमन गर्न कानुनी रुपमा सहज हुने भएको छ । गाउँपालिकामा निर्माण भएको देशकै तेश्रो लामो झुलुङ्गे पुलको संरक्षण र सम्बर्धनमा गाउँपालिकाले विषेस चासोकासाथ काम गर्ने बताउनुभयो ।
सोमबार बसेको गाउँ अधिवेशनले संसोधन गरिएका योजना तथा कार्यक्रम समेत पास गरेको छ । अधिवेशनले कृषि तथा पशुपंक्षी सम्बन्धी पहिलो संशोधन विधेयक २०८१ पनि पास गरेको छ ।
२०७८ सालमा बनाइएको उक्त ऐनमा माछा पालनका लागि ३० कठ्ठा जमिन चाहिने व्यवस्था रहेकोमा संघ र प्रदेशको व्यवस्था अनुरुप गाउँपालिकाले ६ कठ्ठा जमिनको व्यवस्था राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले बताउनु भयो ।
अधिवेशनले बेरुजु नियमित गर्ने प्रस्ताव र सभाद्वारा गठन हुने समिति गठन÷पुनर्गठन गर्ने प्रस्ताव पनि पास गरेको छ ।
अधिवेशनमा कार्यपालिका सदस्यहरूले राखेको जिज्ञासालाई सभाध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले सम्बोधन गर्नु भएको थियो ।
गाउँसभामा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिका सदस्य तथा वडा नं. ३ का सदस्य दिपक सापकोटा, वडा नं. १ अध्यक्ष अनिल वाग्ले, वडा नं. ३ का अध्यक्ष पर्शुराम चेम्जोङ लगायतले विषयगत धारणा प्रस्तुत गर्नु भएको थियो ।