मङ्गलवार, माघ १, २०८१
Sancharmanch

लेखक रविन तिम्सिना ‘कोर्काली’को तीन वटा भाषामा लेखिएको लिमरिक सङग्रह ‘शक्ति’ बजारमा

आइतवार, पौष २८, २०८१
पाँचथर/ पाँचथरका लेखक रविन तिम्सिना ‘कोर्काली’ले तीन वटा भाषामा लेखिएको लिमरिक सङग्रह ‘शक्ति’ बजारमा ल्याउनु भएको छ । जन गायक जिवन शर्माको प्रमुख आतिथ्यतामा एक भब्य समारोहकाविच लिमरिक सङ्ग्रह पौष ९ गते सार्वजनिक गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा आयोजना गरिएको थियो । विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, अग्रज साहित्यकार स्रष्टाहरुको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको थियो । ७२ वटा लिमरिक समावेश भएको उक्त सङ्ग्रहमा जीवन जगत, प्रेम, समाज, संस्कृति, सामाजिक समस्या र विकृति, राजनीति लगायतका विषयवस्तुहरु पुस्तकमा समावेस गरिएको छ । ७२ वटै लिमरिकहरु नेपाली, अङ्ग्रेजी र सिरिजङ्गा लिपि (लिम्बू भाषा) मा रहेका छन । तिम्सिनाका लिमरिकहरुको अङ्ग्रेजी अनुवाद बालिका थपलिया र सिरिजङ्गा लिपिमा अनुवाद साहित्यकार तिलविक्रम नेम्बाङ (भित्राङ्गी काइला) ले गर्नुभएको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फे ले प्रकाशन गर्नुभएको उक्त सङ्ग्रह एक हजार प्रति प्रकाशन भएको लेखक तिम्सिनाले जानकारी दिनुभयो । उक्त पुस्तक पाँचथरसहित पूर्वका पुस्तक पसलहरुमा उपलब्ध हुने लेखकको भनाइ छ । लिमरिक पाँच पङ्तिको हास्यब्यङ्ग्य कविता हो । पाँच पङ्तिमध्ये पहिलो, दोश्रो र पाचौं पङ्तिमा अन्त्यानुप्रास मिलेको हुनुर्छ भने दोश्रो र चौथो आपसमा मिलेको हुनुपर्छ । पहिलो, दोश्रो र पाचौं पङ्तिमा सरदर १६ अक्षर तथा तेश्रो र चौथोमा सरदर १० अक्षर हुने गर्दछन । लिमरिकमा हास्यब्यङ्ग्य, यौन, प्रकृति लगायत कुराहरुलाई समेत जोड्ने गरिन्छ । पाँचथरका लेखक प्रेमप्रसाद नेपालले उक्त लिमरिक सङ्ग्रहमा रहेका रचनाको भाव केलाउन समय लागेको र रचनाहरु धेरै नै शक्तिशाली रहेको वताउनुभयो । अग्रज साहित्यकार प्रेम ओझाका अनुसार तीन भाषामा रहेको लिमरिक सङ्ग्रह नेपालकै पहिलो हो । नेपालमा हालसम्म पनि लिमरिक सङ्ग्रह फेला नपरेपनि प्रकाशन भएको हुनसक्ने तर त्रैभाषिक प्रकाशन नभएको ओझाले वताउनुभयो । उक्त कृति प्रकाशनले नेपाली साहित्यमा नयाँ इटा थपिएको र लिमरिक खेलनमा उत्प्रेरणा दिने उहाँको भनाइ छ । अझ स्थानीय सरकारले लगानी गरेर उक्त सङ्ग्रह प्रकाशनमा ल्याउनुले स्थानीय तहहरुले कला, भाषा र साहित्यको विकासमा लगानी गर्नु र अपनत्व लिनु उपयुक्त हुने देखिएको अग्रज साहित्यकार ओझाले वताउनुभयो । उक्त सङ्ग्रहमै समावेश भएको ‘शक्ति’ लिमरिकमा भनिएको छ आणविक अस्त्रले संसार हल्लाउनेहरु शक्तिको साङ्लोले दुनियाँलाई बाँध्नेहरु सक्छौ पृथ्वी एक क्षण रोक, ‘ए’ अघि ‘जेड’ पछि के हुन्छ तोक, प्रकृतिमाथि नै कुशासन गर्न खोज्नेहरु । यसअघि लेखक तिम्सिनाका ‘जेल मेरो विश्व विद्यालय’ र ‘प्रधानमन्त्रीलाई चिठ्ठी’ नामक कृति प्रकाशनमा आइसकेका छन । लेखक तिम्सिनाले वि.सं. २०५९ सालमा ६९ वटा तथा वि.सं. २०८० सालमा चार वटा रचना गरी लिमिरक सङ्ग्रह ‘शक्ति’ लाई बजारमा ल्याएको वताउनुभयो । रु. १९९ मूल्यको उक्त सङ्ग्रहको बिक्रीबाट सङ्कलन हुने सबै रकम असहाय विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने लेखक तिम्सिनाले वताउनुभयो ।
सम्बन्धित खबर