बिर्तामोड, १० मंसिर / बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा 'लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम' सम्पन्न भएको छ ।
निर्माणधिन बुट्टाबारी- प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो ।
यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छे देखि टाढा रहन सबैलाई सचेत गराउनु भयो । बिर्तामोडमा लागुऔषधको भयाबह अवस्था रहेकोले कुनै पनि प्रकारका गतिविधि देखिए प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गर्नु भयो ।
यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रदै गएकोले अभिभावकले निगरानी बढाउनु पर्ने बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद व्यक्त गर्नु भयो ।
सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धिका अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिनु भयो । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागुऔषध नियन्त्रणमा जोड दिनु भयो ।
निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ध्रुव उप्रेतीले स्वागत तथा बिजय तिम्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क (बिएसडब्ल्यु)मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक 'पेन्टोमाइम शो' प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।