झापा/ झापाको बुद्धशान्ति गाउँपालिका कार्यालयमा शुक्रबार आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्तरक्रिया कार्यक्रममा आयोगका कर्मचारीलाई कार्यक्रमका सहभागीहरूले र्याखर्याख्ती पारेका छन् ।
आयोगका कर्मचारी तथा आयोगले गरेका कामप्रति प्रश्न उठाउँदै कार्यक्रमका सहभागीहरूले आयोगका कर्मचारीलाई र्याखर्याख्ती पारेका हुन् ।
पछिल्लो समय स्थानीय तहमा देखिएका भ्रस्टाचारका घटना र स्थानीय तहका कर्मचारीलाई भ्रस्टाचारविरुद्ध सचेतना जगाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आयोगका कर्मचारीहरूलाईनै प्रश्नको बर्षा भएको हो ।
कार्यक्रममा सहभागी बुद्धशान्ति ४ मा रहेको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष श्यामबीर लिम्बुले ‘अख्तियारले सानालाई मात्र समाउने हो?’ भन्दै प्रश्न गर्नुभयो । उहाँको प्रश्नले अख्तियारको कार्यशैली देखावटी मात्र भएको पहुँच नहुनेलाई मात्र अनुसन्धान हुने भाव झल्काइरहेको देखिन्थ्यो ।
उहाँले भन्नुभयो, ‘ठूलालाई अख्तियार नलाग्ने कुरा घटनाक्रमले देखाइसकेको छ । कतिपय भ्रस्टाचारका समाचार बाहिरिँदा पनि अख्तियार चुप बस्ने अनि सानालाई चाहिँ खोरमा थुन्ने भन्ने आम नागरिकको बुझाई छ ।’
निजामति कर्मचारीको रुपमा जागिर खानका लागि प्रतिस्पर्धामा हुनेहरुले समेत अख्तियारमा जाने र टन्न कमाउने सोच बनाउने, मालपोत, यातायात र भन्सारमा खुलेआम भ्रष्टचार हुने गरेको प्रसंगले स्थान पाईरहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कस्तो काम गर्छ भन्नेकुरामा अन्योल सिर्जना भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च पदस्थ कर्मचारीहरुनै भ्रष्टचारको दलदलमा रहेको समाचारले आयोगको कार्य शैली माथिनै प्रस्न चिन्ह खडा भएको सहभागिहरुको धारणा थियो ।
सुसासनको पाठ पढाउने आयोगको नामले परिचित अख्तियारमाथी अन्तरक्रियामा सहभागिहरु बाटनै सुसासनको प्रश्न उठ्नु र आयोगले बिभिन्न समयमा गरेका अनुसन्धानमा साना माछाहरु मात्र दोषी देखिदै ठुला माछाहरुले उन्मुक्ति पाउने घटनाका विषयमा पनि सहभागिहरुले प्रश्न उठाएका थिए ।
कार्यक्रमको अन्त्यमा अख्तियार दुरुपयोग आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेले सहभागिका प्रश्न तथा जिग्यासाहरुको सम्बोधन गर्नु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका उपसचिव निरज कुमार देवले शहजिकरण गर्नु भएको कार्यक्रमको आयोगका प्रमुख सुरेश न्यौपानेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।