बिहिवार, मंसिर ६, २०८१
Sancharmanch

सदस्य लक्षित विभिन्न सेवा थप गर्दै मिलनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ सभा सम्पन्न

शनिवार, मंसिर १, २०८१
झापा/ झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्था लि.ले सेयर सदस्यहरूको लागि सेवा सुविधा थप गर्दै लगेको जनाएको छ । संस्थाको शनिबार सम्पन्न १५औं वार्षिक साधारण सभामा सदस्यहरूको लागि विभिन्न सेवा सुविधा थप गरिएको जानकारी दिइएको हो । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाद्वारा प्रस्तुत प्रतिवेदनमा समुदाय लक्षित विभिन्न कार्यक्रमहरु समावेश गर्नुका साथै सदस्यहरुलाई व्युटिसियन, सिलाई बुनाई, कम्प्युटर लगायत स्वरोजगारमूलक तालिम सञ्चालन गरिने उल्लेख छ । सदस्यहरूका लागि अटोरिक्सा, ई–रिक्सा, इलेक्ट्रोनिक सामान आदिमा ऋण प्रवाह गर्नुका साथै सदस्यहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त एसएमएस, मोबाइल बैंकिङ, फोन पे, क्युआर कोड जस्ता सेवाहरु थप गरिने उल्लेख गरिएको छ । कृषक सदस्यहरूका लागि विभिन्न तालिम दिनुका साथै सहुलियत कर्जासमेत उपलब्ध गराइने उहाँले बताउनुभयो । सहकारीका सेयर सदस्यहरू बिरामी भई उपचार गर्नुपरेमा उपचार खर्च साथै सदस्यहरूको मृत्यु भएमा ५० हजारसम्म सरयबापत रकम उपलब्ध गराउँदै आएको बताइएको छ । गत आर्थिक वर्षमा दुई जनालाई सरय र ५ जनालाई उपचार खर्च उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मिलनसारका सदस्यहरूले बिर्तामोडस्थित अन्जली अस्पतालमा उपचार गराएमा २० प्रतिशत छुटको व्यवस्था गरिएको समेत जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कुल वासलातमा सदस्यहरुको ७० प्रतिशत योगदान हुनुपर्ने धारणा राख्दै सहकारीका नकारात्मक नकारात्मक टिका टिप्पणीका कारण समस्या आउनेगरेको बताउँनुभयो । गत आ.व. सम्म महिला ८ सय ८१ जनासहित २ हजार ६ सय ९ जना शेयर सदस्य रहेको मिलनसार साकोसको शेयर पूँजी २ करोड १५ लाख ३७ हजार छ सय रुपैयाँ रहेको, बचत मार्फत रु ३ करोड ६६ लाख ६४ हजार ८ सय ६१ रुपैया निक्षेप रहेको त्यसैगरी रु ५ करोड ८८ लाख ९० हजार ५३६ रुपैयाँ ऋण लगानी भएको बताइएको सहकारीमा ७ करोड २२ लाख ३० हजार ३ सय ६४ रुपैयाँ २९ पैसा वासलातसँगै हाल १ करोड, ३२ हजार, ५ सय ३१ रुपैयाँ ९६ पैसा ऋण योग्य मौजाद रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले मिलनसार साकोससँग सहकार्य गर्दै अगाडि वढेको बताउनुभयो । सहकारीले १५ औँ बार्षिक साधारणसभा मार्फत विभिन्न पुरस्कार तथा सम्मानको कार्यक्रम समेत सञ्चालन गरेको छ । जस अन्तर्गत उत्कृष्ट बचतकर्ताको लागि गुलाब रिजाल, दामोदर (सागर) गौतम र हरिप्रसाद राजवंशी, उत्कृष्ट बालबचतकर्ता तर्फ निशा दनुवार, उत्कृष्ट महिला बचतकर्ता निर्जला खनाललाई नगदसहित सम्मान गरिएको थियो । त्यसै गरी उत्कृष्ट ऋणीको सम्मानका लागि रञ्जित रजक, राजु खनाल र पुष्पाकुमारी राजवंशीलाई छनौट गरेको सहकारीले, सदस्यहरूका सन्ततिमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने सानी रजकलाई समेत सम्मान गरेको थियो । त्यसैगरी इमान्दारपूर्वक काम गरेको भन्दै कर्मचारी तर्फ पुष्पलता अर्याललाई नगदसहित प्रशंसापत्र द्वारा सम्मान गरिएको थियो । बुद्धनगर साकोसका सचिव देवी आचार्यले अन्य नगरपालिकाहरुको तुलनामा विर्तामोड नगरपालिकाले सहकारीहरुका लागि अभिभावकत्व ग्रहण नगरेकोमा दुःख ब्यक्त गर्नुभयो । मिलनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मि प्रसाद वाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा भण्डारी पौडेल, बुद्धनगर साकोसका सचिव देवी आचार्य लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष अजय देवले स्वागत गर्नु भएको कार्यक्रम संस्थाका सचिव कैलाश पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर