बुधवार, असोज ३०, २०८१
Sancharmanch

गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाको सातौँ बार्षिक साधारण सभा सम्पन्न

शनिवार, भदौ ८, २०८१
झापा /  गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा रहेको शाखाको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले बार्षिक साधारणसभासाथै तिज मिलन कार्यक्रमको समेत आयोजना गरेको थियो । संस्थाले सामाजिक विकासका लागि उत्कृष्ठ कार्य सम्पादन गरेको बताउँदै अन्य संस्थाको भन्दा फरक सोचकासाथ प्रतिष्ठान अगाडि वढेको शिवसताक्षी नगरपालिका वडा नं. ६ की सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजालले बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले पर्वको अवसर पारेर साधारणसभाको आयोजना गरेको बताउँदै शिवसताक्षी नगरपालिका वडा नं. ४ का अध्यक्ष विष्णु प्रसाईले संस्थाले गरेका कामका बारेमा बताउन समय लाग्ने बताउनुभयो । गोपालगौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले संस्था स्थापनागर्नुको मुख्य कारण आफुले चाहेर पनि समाजमा सहयोगको कार्यक्रम सञ्चालन गर्न असहज भएको बताउँदै आफ्नो परिवारको वियोग पछि संस्थालाई परिवार संझेर प्रतिष्ठानको स्थापना गरेको बताउनुभयो । आफुसँग सम्पति भएर पनि घर भित्रै बसेर सामाजिक कामका लागि लाग्ने सोच भएका नागरिकहरु कमै हुने उल्लेख गर्दै गोपालगौरीले समस्या समाधानमा तत्परता देखाउने सकारात्मक उर्जा प्रशंसनिय रहेको शिवसताक्षी नगरपालिका उप प्रमुख नरमाया कार्कीले बताउनुभयो । गोपालगौरी दिगो विकास प्रतिष्ठानले धेरै गतिविधिहरु सञ्चालन गरेको बताउँदै आफ्नो नगरपालिकामा गोपाल गौरीले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको कनकाई नगरपालिका उप प्रमुख आशा शिवाकोटीले बताउनुभयो । विभिन्न संघ संस्थाले अथक मिहेनतकासाथ श्रोत साधन जुटाउनुपर्ने यथार्थता रहेको बताउँदै गोपाल गौरी दिगो विकास प्रतिष्ठाले समाजिक विकासका लागि विभिन्न गरिविधि गरिरहेको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेघाहाङ थोप्रा रोशनले बताउनुभयो । संस्थाका झापा शाखा अध्यक्ष भद्रकुमार दुमी राईले शाखाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाको आर्थिक प्रतिवेदन झापा शाखाका सदस्य राजेश पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा झापा शाखाका कोषध्यक्षले दिनुभएको राजिनामा पास गर्दै उक्त पदमा कार्यसमिति सदस्य लिला लिम्बुलाई मनोनित गरेको छ भने रिक्त भएको सदस्य पदका लागि नर्वदा दाहाललाई मनोनित गरिएको छ । प्रतिष्ठान झापा शाखाकी उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर