बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन

सोमवार, साउन ७, २०८१
रमेश तिवारी: बिर्तामोड, ७ साउन / बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उदेश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटनलाई अघि बढाएको छ । नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र मध्ये आज २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको छ । 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ अघि बढाईएको यस कार्यक्रम अन्तर्गत रहेका वडा नम्बर ५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको हो । तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक नगर प्रमुख सिता ढुंगाना र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको निबर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले रिवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै निबर्तमान नगर प्रमुख शिवाकोटीले खाली जमिनलाई बाँझो नराखी अर्गानिक तरकारी उत्पादन गर्न सबैलाई आग्रह गर्नु भयो । विषादी हालिएका तरकारीबाटै प्राणघातक रोग लाग्ने गरेको भन्दै उहाँले यसबाट बच्नको लागि विषादी रहित भान्छामा जोड दिनुभयो । यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले नगरको यो कार्यक्रम सफल बनाउन सहभागी सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका विक्री केन्द्र सबै टोलमा बिस्तार गर्न सकिने बताउनु भयो । सबैजना अर्गानिक तरकारी उपभोगमा लाग्ने हो भने भारतजाने पैसासमेत रोकिने उहाँको धारणा थियो । बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालुआर्थिक वर्ष भित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने जनाईएको छ । बिक्री केन्द्रका अध्यक्ष युवराज चिमरीयाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ५ का वडासदस्य ओमभक्त सेडाईँ, व्यवसायी नारायण चिमरीया लगायत विभिन्न व्यवसायी, कृषक, उपभोक्ताहरुको सहभागिता रहेको थियो । नगरपालिकाले अन्य वडामा रहेका संकलन तथा बिक्री केन्द्रहरुलाई क्रमश उद्घाटन गर्ने कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो ।
सम्बन्धित खबर