बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्तिको संमृद्धिमा करुणा फाउण्डेसनले सहयोग गर्ने सम्झौता गर्यो

आइतवार, असार ३०, २०८१
बुद्धशान्ति, ३० असार/ झापाको बुद्धशान्तिमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिका र करुणा फाउण्डेसनविच आइतबार सम्झौता भएको हो । सम्झौतामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानि प्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल, र साझेदार संस्था करुणा फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा योजना शाखा प्रमुख मदन कणेल, महिला विकास शाखा प्रमुख मिना विष्ट, स्वास्थ्य शाखा प्रमुख धिरेन यादव, प्रसाशन शाखा प्रमुख देवेन्द्र कटुवाल, शान्ति अपाङ्ग संघका अध्यक्ष सावित्रा ढुंगेल, अपाङ्गता सहायता कक्षका जय प्रकाश खाती लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष प्रसाईले कार्यक्रमलाई सफल बनाउन बुद्धशान्ति गाउँपालिकाका आम नागरिक, कर्मचारी सञ्चारकर्मीलगायतले सकारात्मक सहयोग गर्न सम्पूर्ण पक्षलाई आग्रह गर्नुभयो । उहाँले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि संस्था र पालिकाविच भएको सम्झौताले एउटा परिणाममुखी नविन प्रयासको सुरुवात हुने विश्वास ब्यक्त गर्नुभयो । पहिलो एक वर्षको कार्य प्रगतिको मुल्याङ्कन गरेर कार्यक्रमलाई थप परिस्कृत गर्दै अगाडि बढाइने समेत उहाँले बताउनुभयो । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका १४ वटै जिल्लामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने जनाएकोछ । बुद्धशान्तिसहित झापाका १२ वटा पालिकामा सम्झौता सम्पन्न भएको करुणा फाउण्डेसनले जनाएको छ । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोख्रेलले पालिकामा रहेका अपाङ्गता भएका नागरिकहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत त्रिपक्षिय साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुनःस्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुखरुपमा काम गर्ने संस्थाले जनाएको छ । कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । बुद्धशान्तिमा मात्रै राष्ट्रिय जनगणना २०६८ अनुसार १ हजार २ सय ९९ उनान्सय जना अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ । जस मध्ये ५ सय ६८ जनाले गाउँपालिका बाट परिचयपत्र लिएकाछन् । जसमा रोतो परिचय पत्र प्राप्त गर्नेको संख्या १ सय २६, निलो परिचय पत्र प्राप्त गर्ने ३ सय १०, पहेँलो परिचय पत्र प्राप्त गर्ने ९३ र सेतो परिचय पत्र प्राप्त गर्ने ३९ जना रहेकाछन । जसमा २ सय ५५ जना महिला रहेका छन भने ३ सय १३ जना पुरुष रहेको महिला तथा बालवालिका शाखा प्रमुख मिना बिष्टले जनाकारी दिनुभयो । करुणासंगको सम्झौता अवधि ३ वर्षको रहेको छ । बुद्धशान्तिमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको २३ लाख ५१ हजार, बुद्धशान्ति गाउँपालिकाको २३ लाख ५१ हजार र करुणा फाउण्डेसनको २३ लाख ५१ हजार रुपैयाँ बजेट रहेको जनाईएको छ । सम्झौता आगामी साउन १ गतेदेखि लागूहुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउण्डेसनले जनाएको छ । कार्यक्रमले अपाङ्गता भएका ब्यक्ति साथै भावि पुस्तामा अपाङ्गता निर्मुल पार्ने लक्ष अनुसार सन्तान जन्माउने योजना बनाएका दम्पतिलाईनै फोलिक एसिड जस्ता स्वास्थ्यवर्धक खाद्यतत्वको प्रयोगका लागि सहयोग गर्ने जनाइएको छ ।
सम्बन्धित खबर