बुधवार, असोज ३०, २०८१
Sancharmanch

लागुऔषध प्रयोग विरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा मुनामदन एकेडेमी प्रथम

मङ्गलवार, असार १८, २०८१
झापा, बुद्धशान्ति / अन्तरविद्यालय लागुऔषध प्रयोग विरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा मुनामदन एकेडेमी प्रथम भएको छ । बुधबारे जेसीजले आयोजना गरेको प्रतियोगितामा बुद्धशान्ति ४ मा रहेको एकेडेमी प्रथम भएको हो । प्रथम स्थान हासिल गरेको मुनामदनले ट्रफी, प्रमाणपत्र तथा पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थान ज्योति अंग्रेजी बोर्डिङ स्कुल तथा तेस्रो स्थान एराएभरग्रीन बोर्डिङ स्कुलले हासिल गरेका छन् । ती विद्यालयहरूले पनि ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार पाएका छन् । ज्योतिले तीन हजार तथा एराएभरग्रीनले दुई हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, बेस्ट स्पिचको उपाधि सरस्वती आधारभूत विद्यालयका विद्यार्थी संयोग घिमिरेले हात पारे । त्रिभुवन माविकी छात्रा प्रेजिसा अर्यालले बेस्ट एक्टरको उपाधि हात पारीन । विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो । बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईंले लागुऔषध दुर्व्यवसनको अवस्था भयावह रहेको सन्दर्भमा विद्यार्थीहरूले निर्माण गरेका भिडियो सामग्रीले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना दिने विश्वास व्यक्त गर्नु भयो । बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतले बताउनु भयो । कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, सामाजिक कार्यमा क्रियाशील मनेश दाहाल, निर्णायकका तर्फबाट गणेश निरौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रतियोगिताको निर्णायकहरूमा बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी, बरिष्ठ सञ्चारकर्मी साथै सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, शिक्षासेवी गणेश निरौला, प्याब्सनबाट बिष्णु सापकोटा तथा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगाल रहनु भएको थियो । कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गर्नुभएको थियो भने अध्यक्षता बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतको रहेको थियो । बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रमको संयोजन कृष्ण ढकालले गर्नुभएको थियो।
सम्बन्धित खबर