बुधवार, असोज ३०, २०८१
Sancharmanch

अनियन्त्रित उत्खननको छानविन गर्न माग

मङ्गलवार, असार ११, २०८१
विर्तामोड / मेचीनगरमा क्रियाशील ५ राजनीतिक दलले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्बारे सर्वदलीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन नगरपालिकासँग माग गरेको छ । नेपाली कांग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विशालकृष्ण बास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीका भिमबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका हरि तिम्सिनाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । विज्ञप्तिमा अनियन्त्रित उत्खननकै कारण बनेको खाल्डोमा जम्मा भएको पानीमा डुवेर मेचीनगर–३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएको दावी गर्दै अनियन्त्रीत उत्खननको छानविनका लागि सर्वदलीय समिति गठन गरी सत्यतथ्य बाहिर ल्याएर दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ । भण्डारीको पौडी खेल्ने क्रममा स्थानीय निन्दा खोलामा डुबेर लगभग दुईमहिना अघि निधन भएको थियो । अनियन्त्रित उत्खननले नगरपालिकाको राजश्व समेत अपचलन भएको ठहर विज्ञप्तिमा गरिएको छ । मेचीनगर नगरपालिकाका ४ नम्बर वडा अध्यक्षले स्थानीय एक एफएममार्फत नगरपालिकाका सामाजिक विकास अधिकृतमाथि भ्रष्टचारीको गम्भिर आरोप लगाएको घटनाको सत्यतत्थ सार्वजनिक गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । यस घटनामा नगरपालिका मौन रहेकोप्रति प्रश्न गर्दै विज्ञप्तिमा ‘निर्दोष नपरोस, दोषी नउम्कियोस’ भन्दै नगरबासीसमक्ष सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । ‘विगतमा पनि मेनपा कार्यालय परिसरभित्रै सेवाग्राहीमाथी हातपात हुनु, प्रभावकारी अनुगमन नभएका कारण विद्यालयको सेफ्टी टेंकीमा डुबेर विद्यार्थीको मृत्यु हुनु, अखाद्य वस्तुको उपभोग गर्न नगरबासीहरु बाध्य हुनु, न.पा. कार्यकक्षभित्रै कर्मचारीमाथि हातपात हुनुजस्ता गलत काम कार्वाहीबाट नगरबासी तथा नगरपालिकाबीच अविश्वास र त्रासको वातावरण सिर्जना भएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’– विज्ञप्तिमा भनिएको छ–‘यसअघि भएका छानविन समितिबाट आएको रिपोर्ट समेत सार्वजनिक गरियोस।’ नगरपालिकाले विगतमा थालनी गरेका गौरवका योजनाहरु ओझेलमा परेको भन्दै विज्ञप्तिमा योजना सञ्चालन बजेट ब्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । विगतमा मेचीनगरका राजनीतिक दलहरुले विभिन्न बिषयमा दिएको ध्यानाकर्षण पत्र र विज्ञप्तिमा गरिएका मागबारे कुनै सुनुवाई नभएको भन्दै विज्ञप्तिमा सो विषयलाई सम्बोधन गर्न र सार्वजनिक गर्न माग गरिएको छ । नगरपालिकाबाट भइरहेका गलत कामका कारण नगरबासीहरु नै जोखिममा परिरहने, जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरद्वन्द्व, खिचातानी र हैकमबादका कारण नगरको प्रशासनिक गतिविधिमा समेत नकारात्मक असर परेकोप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर