बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापामा आइपीयम पाठशाला समापनसँगै कृषक दिवस मनाइयो

मङ्गलवार, जेठ २२, २०८१
झापा/ कृषि ज्ञान केन्द्र झापाको आर्थिक सहयोगमा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ मा १६ हप्ते आइपीएम कृषक पाठशाला कृषक दिवश मनाउँदै सम्पन्न भएको छ । एकीकृत शत्रुजीव व्यवस्थापनका प्राकृतिक विधिहरु कृषकलाई सिकाउने उध्येश्यसहित आइपीएम तालिम सञ्चालन गरिएको थियो । बढ्दो रसायनिक विषादी न्यूनीकरणका लागि आइपीएम पाठशाला सञ्चालन गरिएको बताइएको छ । करेला वालिका लागि १६ हप्तासम्म सञ्चालन भएको आइपीएम कृषक पाठशाला सोमबार एक कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको हो । कार्यक्रममा आइपीयम पाठशाला वाट उत्पादन भएको करेलाको समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रमका विषिष्ट अथिति कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले पाठशाला सम्पन्न भएको होइन सुरुवात भएको बताउनु भयो । पुरानो प्रविधिलाई नविनतम प्रविधिसँग परिमार्जन गरेर आधुनिक बनेको बताउँदै कार्यक्रममा प्रस्तुत गरिएको नाटक, गीत, कविता लगायतले कृषिमा बढ्दो रसायनिक विषदी र रोग किराको विषयमा प्रष्ट पारेको पनि बताउनु भयो । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउन जरुरी रहेको बताउँदै प्रमुख विष्टले रसायनिक विषादीको असर दीर्घकालसम्म रहने हुँदा सुरक्षित विषादी सोधेर, बुझेर मात्र प्रयोग गर्न जरुरी रहेको बताउनुभयो । समस्या भएपनि समाधानमा सम्पूर्ण पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । जमिन पर्याप्त हुनेले बाजो नराख्न पनि प्रमुख बिष्टले सम्पूर्ण नेपाली नागरिकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा दुईजना कृषकहरूलाई एक एक थान हजारी सहित सम्मान गरिएको थियो । जसमा दिलप्रसाद अधिकारी र विष्णुबहादुर केप्छाकी मगर रहनु भएको थियो । गाउँपालिका कृषि शाखा प्रमुख अर्जुन पौडेलले यसअघि पनि दुईवटा पाठशाला सञ्चालनको प्रयास भएपनि तालिम अवधि पुरा गर्न नपाई विसर्जन गर्नुपर्ने बाध्यता रहेको बताउँदै वडा नम्बर ४ कृषि भुमिका लागि राम्रो अनि ठूलो क्षेत्रफल भएको वडा भएका कारण कृषि क्षेत्रलाई अगाडि बढाउन मद्दत पुगेको समेत बताउनु भयो । आइपीएम सहजकर्ता फडिन्द्र ढुङ्गानाले आइपीएम खोजमूलक सिकाई र अनुसन्धानत्मक पढाइ हुने एक कृषक पाठशाला भएको दाबी गर्दै बिउ देखि उत्पादन मात्र होइन पाठशालामा बाली भण्डारणसम्मको सिकाइ हुने बताउनुभयो । झापामा ६ वटा पाठशाला सञ्चालन भएको बताउँदै आइपीएमलाई समुदायमा लिएर जानुपर्ने धारणा राख्नुभयो यस प्रकृतिका कार्यक्रमलाई राजनीतिक दलले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । रसायनिक विषादीका कारण क्यान्सर जस्तो भयावह रोगको प्रकोप बढीरहेको सन्दर्भमा कृषक नै अध्ययनकर्ता बनाउँदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । अबको आइपीएम कृषक पाठशाला सुपारी बालीमा केन्द्रित हुन जरुरी रहेको पनि सहजकर्ता ढुंगानाले जोड दिनुभयोे । आइपीएम कृषकको आफ्नै लागि भएको हुँदा यसबाट स्वास्थ्यबाली उत्पादन गर्ने लक्ष्यअनुसार सिकाई भएको र सिकाई उपलब्धि अनुसार स्वास्थ्यवादी उत्पादन गर्नका लागि सम्पूर्ण उपस्थित सहभागी कृषकहरुलाई अनुरोध गर्नुभयो टोलबाट बजेट बन्ने हुँदा कार्यक्रम छनौट गरेर अगाडि बढाउन समेत कृषकहरुलाई आग्रह गर्नुभयो । नेपाल डेरी एसोसिएसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले यसपटक राज्यले कृषिमा राम्रो बजेट विनियोजन गरेको हुँदा निगरानीमा कृषक नै जागरुक हुनुपर्ने धारणा राख्नुभयो । विदेश वाट दुध आएको दाबी गर्दै यसबाट डेरी उद्योग तथा कृषकहरुलाई ठूलो नोक्सानी भएको पनि उहाँले बताउनुभयो । सानोसानो स्केलमा अनुदान दिन सरकारलाई अनुरोध गरेको जानकारी गराउँदै चिमरियाले माटो परीक्षण गरि माटो सुहाउँदो बाली लगाउनु पर्नेमा जोड दिनुभयो । अखिल नेपाल कृषक महासङ्घ केन्द्रीय सदस्य थिरप्रसाद खतिवडाले हरेक कुरा प्राप्त गर्ने सन्दर्भमा मात्र प्रतिस्पर्धा हुने त्यसपछि कृषकहरु चुपचाप बस्ने प्रवृत्ति रहेको बताउँदै, कृषकलाई विषादी प्रयोग गर्न विक्रेताले प्रयोग गर्ने विधि र सावधानी अपनाउन सिकाउनुपर्ने धारणा राख्नुभयो । विषादी प्रयोगमा कृषकले आफू खाने र बजार लाने छुट्टै उत्पादन गर्ने प्रचलन गलत भएको भन्दै विषादी प्रयोगलाई पूर्णतया सुरक्षित तवरले गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका अध्यक्ष धान्य प्रसाद खतिवडाले धेरै अगाडिबाट आइपीएम पाठशाला सुरु भएको बताउँदै शान्तिनगरमा विषादीको प्रयोग बढेको समाचार आएपछि निरन्तर रुपमा लागि परेको बताउनुभयो । विगतमा कोरोना महामारीका कारण सञ्चालन भएको आइपीएम पाठशाला समापन हुन नसकेको बताउँदै उहाँले आइपीयम पाठशालाले तयार गरेको बाली त्यस बखत कृषकको बारीमा नष्ट भएको र कोरोना महामारी पछि पुन माग गरेर २०८० माघ २० गतेबाट पाठशाला सुरु भएको बताउनुभयो । सहभागीबाट पनि नियमितता नहुँदा पाठशाला सञ्चालनमा समस्या भएको बताउँदै कक्षा सञ्चालन १७ हप्तासम्म भएको उहाँले बताउनुभयो । बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ मा मुख्यतया सिंचाइको समस्या भएका कारण सम्बन्धित निकायसँग माग गर्नका लागि सानोसानो समूह निर्माण गरेर अगाडि बढ्ने जमर्को गरिरहेको पनि अध्यक्ष खतिवडाले बताउनुभयो । समूह निर्माणका लागि हरेक टोलमा २५ देखि ३० जनाको समूह बनाउनुपर्ने उहाँको भनाई थियो । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर रायले वडामा ब्यवसायिक कृषि कर्म बढिरहेको भएपनि सिचाईको अभाव रहेको स्वीकार गर्नु भयो । आइपीएम कृषक पाठशाला सञ्चालनमा कृषि ज्ञान केन्द्रले गरेको सहयोगको प्रशंसा गर्दै अध्यक्ष रायले पालिकाबाट प्राप्त बजेटलाई मध्यनजर गरेर विभिन्न क्षेत्रमा विनियोजन गरेको पनि बताउनुभयो । वडा नम्बर ४ पालिकाकै भौगोलिक रूपमा ठूलो वडा भएकोे बताउँदै वडा अध्यक्ष रायले सानो बजेट सिलिङ मार्फत सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । स्वस्थ बाली उत्पादन गरौँ पर्यावरणलाई जोगाउँ भन्ने मुल नारा सहित १६ हप्ते बर्ने आइपीएम कृषक पाठशाला समापन कार्यक्रम साथै कृषक दिवस कार्यक्रम बर्नेटिमाई आइपीएम पाठशाला बुद्धशान्ति ४ को आयोजना त्यसैगरी मुल कृषक समूह बुद्धशान्ति ४ झापाको व्यवस्थापनमा आयोजना गरिएको थियो । तालिममा सहभागी रविना खड्का र साथीहरूले स्वागत गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पाठशालामा सहभागि कृषकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रमका अतिथि साथै विषिष्ट अतिथिद्वारा विरुवामा पानि हालेर उद्घाटन गरिएको कार्यक्रममा रसायनिक विषादीको कुप्रभावका बारेमा प्रष्ट पार्ने लक्ष्यसहित नाटक प्रस्तुत गरिएको थियो । तालिममा सहभागि भिमा सिवाकोटीले स्वागत गर्नु भएको कार्यक्रम आइपीएम पाठशालामा सहभागी रुद्र भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर