बुधवार, असोज ३०, २०८१
Sancharmanch

वडाले सहयोग दिए पछि झापाको बुद्धशान्ति १ मा बायो ग्याँस जडानमा कृषकको आकर्षण बढ्यो ।

बुधवार, वैशाख २६, २०८१
झापा/ वडाले अनुदान सहयाेगकाे कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन याेजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलियत दिए पछि आर्थिक वर्ष २०८०–०८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् । नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि याेजनागत रूपमा अघि बढिरहेकाे बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हाैसला दिँदै उर्जाका लागि हुँदै आएकाे खर्च कटाैति पनि हुने र २० बर्ष माथि टिकाउ हुने गाेवर ग्यास निर्माणमा अनुदान सहयाेग गरेकाे हाे । गोबर ग्यास प्लान्ट स्थापनाका लागि वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र हैन संकटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताउनुभयो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा केही कृषकहरुले लामो समयदेखि गोबरग्यास प्रयोगमा ल्याएको पाइन्छ । मानिसलाई विभिन्न ढंगबाट बायो ग्यासले सहयोग पुग्ने बताउँदै बुद्धशान्ति गाउँपालिका वडा नं. १ का नन्दकुमार तिम्सिनाले प्लान्टबाट निस्केको मल समेत प्रभावकारी हुने बताउदै वडाले राम्रो काम गरेकोले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । वडा कार्यालयको अनुदान रकमको ब्यवस्थापन साथै लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि सँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबर ग्यास प्लान्टहरु स्थापना भएका छन् । बायो ग्यास निर्माणमा प्रयोग भएका सामग्री र मेकानिजम अत्यन्तै मजबुत भएको बताउँदै प्राविधिक लेखनाथ अधिकारीले प्रयोग कर्ताले प्लान्ट संरक्षणमा ध्यान पूर्याउन सकेको खण्डमा लामाे समय टिकाउ हुने बताउनुभयो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा वडा कार्यालयको महत्वपूर्ण सहयोग प्राप्त भएको बताउँदै सिलिण्डर ग्यासको प्रयोग घटेको साथै यसबाट निस्केको स्लरी बाट गुणस्तरीय जैविक मल बनाउन सकिने मुनाल बायो ग्यास कम्पनीका महा प्रबन्धक श्याम खनालले बताउनुभयो । बिश्वमा बढ्दै गएको उर्जा संकटलाई सम्बोधन गर्नका लागि बायो ग्यास प्लान्टको भुमिका महत्वपूण हुने देखिएको छ । कार्वन उत्सर्जनमा समेत सहयोग गर्ने बायो ग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा कृषकलाई चौतर्फि फाइदा पुग्ने नेपाल बायो ग्यास प्रवद्धन संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो । लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि साथै वडा नं १ कार्यलय साथै उपभोक्ताको गरि त्रिपक्षिय कार्यक्रम अन्तरगत कुल लागत २१ लाख २४ हजारको लागतमा २९ घरमा बायो ग्यास स्थापना भइरहेको छ । बायो ग्यास स्थापनाका लागि वडाले ३ लाख बजेट ब्यवस्था गरेर कार्यक्रम सञ्चालन गरेको बताउँदै प्लान्ट ३० वर्ष सम्म चल्ने साथै खर्च कटौतीमा महत्वपूण भुमिका खेल्ने वडा नं. १ का अध्यक्ष अनिल वाग्लेले बताउनुभयो । एक परिवार बरावर वार्षिक रुपमा २० हजार देखि ३० हजारको सिलिण्डर ग्यास खपत हुने आंकडा रहेको छ । वडा कार्यालयको सहयोगमा ६ घनको ग्यास प्लान्ट निर्माण भएका छन् । वडा नं. १ मा १९ सय ६० वटा गाईहरु वडाको सेवा क्षेत्रका कृषकहरुको गोठमा रहेको अध्यक्ष वाग्लेले बताउनुभयो । बायो ग्यास स्थापनाका लागि हाल बुद्धशान्ति गाउँपालिका वडा नं. १ का कृषकहरूको चासो र उत्साह वढि नै रहेको पाइन्छ । कृषकको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षका लागि बायो ग्यास प्लान्ट स्थापनाका लागि बजेट ब्यवस्थापनलाई निरन्तरता दिने वडा अध्यक्ष अनिल वाग्लेले बताउनुभयो । विकास भनेकाे बाटाे घाटाे मात्रै बनाउनु हाेइन नागरिकको दैनिकीमा सहजता ल्याउनु, नागरिककाे खर्च घटाउने गरीका दीर्घकालीन याेजना लागू गर्नु, बहुउपयाेगी खालका कार्यक्रम सञ्चालन गरेर सुविधा दिनु पनि विकासकाे आधारहरू भएकाे वडा अध्यक्ष वाग्लेको भनाई छ। वायाे ग्यास निर्माण हुँदा सिलिन्डर ग्यासमा हुने खर्च बच्ने छ भने गाेवरका लागि पालिएका पशुबाट दूध बिक्रि गरि तथा मल प्रयोग गरि किसानले आय वृद्धि गर्न सक्नुहोस् भन्ने लक्ष्यका साथ वडाले साे कार्यक्रम सुरुवात गरेकाे छ । जसले किसानमा खुसी छाएकाे छ ।
सम्बन्धित खबर