बुधवार, असोज ३०, २०८१
Sancharmanch

इलाम क्षेत्र नं–२ र बझाङमा हुने निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्देशन

शनिवार, वैशाख १, २०८१
विर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं–२ र बझाङमा हुने निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला समितिको बैठकलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो । इलाम–२ का उम्मेद्वार डम्बर खड्का विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशिल रहेको र हरेक नागरिकको दुःखसुखको साथी बनेर थुप्रै सामाजिक काम गरेको बताउँदै उहाँले डम्बर खड्कालाई मत दिन इलाम–२ का बासिन्दालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले इलाम क्षेत्र नं–२ का सबै वडामा प्रदेश समितिबाट प्रतिनिधि खटाइएको जानकारी दिदै मतदातासँग स्थलगत भेटघाट, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार एवं ब्यक्तिगत सम्बन्धका आधारमा मतदातासम्म पुगेर नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्काले गरेका सामाजिक कामको प्रचार–प्रसार गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेस इलामका सचिव निरोज खड्कीले इलाम क्षेत्र नं–२ को भौगोलिक अवस्थितिबारे जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा १ लाख १८ हजार मतदाता रहेका छन् भने उक्त निर्वाचन क्षेत्रले झापाको उत्तरी क्षेत्र र पाँचथरको केही भूभाग जोडिएका छन् । यसैबीच नेपाली कांग्रेस झापाको बैठकले इलाम क्षेत्र नं–२ मा निर्वाचनको प्रचार–प्रसारका लागि स्वतस्फूर्त रुपमा खटिन सबै नेता–कार्यकर्तालाई आह्वान गरेको छ । निर्वाचन नेपाली कांग्रेस पार्टीका लागि प्रतिष्ठाको विषय बताउँदै बैठकमा विचार अधिकांश बक्ताहरुले सुक्ष्म रुपमा निर्वाचन परिचालन गर्न सुझाव दिएका थिए । कार्यक्रममा सहजीकरण सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
सम्बन्धित खबर