बुधवार, असोज ३०, २०८१
Sancharmanch

संसदमा कांग्रेसको आरोप, रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो

मङ्गलवार, चैत २०, २०८०
काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने प्रस्ट पारे । मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए । सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए । अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए । ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’ तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले बताए ।
सम्बन्धित खबर