बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संसदीय समितिमा रघुजी पन्तको प्रश्न- दुर्गा प्रसाईंलाई हतियार राख्ने अनुमति कसरी दिइयो?

बुधवार, चैत १४, २०८०
नेकपा एमालेका सांसद रघुजी पन्तले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्ने अनुमति कसरी दिइयो? भनेर प्रश्न गरेका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा उनले हतियार राख्न दिइने अनुमतिबारे प्रश्न गर्दै समीक्षा गर्ने बेला भएको बताएका हुन्। रूस, अमेरिकाका विभिन्‍न सहरहरूमा पटकपटक सामूहिक गोलीबारीका घटनाहरू उदाहरण दिँदै आधुनिक हतियार सुरक्षाका लागि उपलब्ध गराउने नीतिमा समीक्षा गर्नुपर्ने देखिएको उनको भनाइ थियो। सयौं गोली लाग्ने खालको हतियार गलत मान्छेको राख्दा भोलि पब्लिक म्यासाकर (सामूहिक हत्याकाण्ड) भयो भने त्यसको जिम्मेवारी सरकारमाथि आउँछ। त्यसैले यो नीति समीक्षा गर्नुपर्ने सरकारले आवश्यक ठानेको छ कि छैन?,  उनले प्रश्न गरे, ‘खासगरी दुर्गा प्रसाईंलाई जुन प्रकारको हतियार कसरी दिइयो? त्यस्तो हतियार राख्ने कानुनी आधार छ भने त्यस्तो आधार पनि फेर्नुपर्‍यो अब त।’ मंगलबार मात्रै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशमा भनिएको थियो, 'हतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरूरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो।' आदेशमा निवेदकलाई दिएको जरूरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनिएको थियो। धिमाल र खड्कालाई प्रहरीले यही चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो।
सम्बन्धित खबर