बुधवार, असोज ३०, २०८१
Sancharmanch

कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्वाचित

शनिवार, चैत ३, २०८०
झापा । कोशी प्रदेशकै ठूला कृषि बजारहरूमध्येको एक बिर्तामोडमा रहेको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्वाचित हुनु भएको छ । खगेन्द्र महतोलाई एक मतले पराजित गरी ओली अध्यक्षमा निर्वाचित हुनु भएको हो । ओलीले ३ मत ल्याउँदा महतोले २ मत पाउनुभएको छ । नेकपा एमालेका आधिकारिक उम्मेदवार महतोलाई विद्रोही उम्मेदवार ओलीले हराउनु भएको हो । ओलीलाई नेपाली कांग्रेस समर्थक मतदाताहरुले सहयोग गरेका थिए । महतोलाई एमाले समर्थक पार्वता बजगाई र पूर्ण खड्काले मत दिएका थिए भने ओलीलाई कांग्रेस समर्थक इन्द्रजित चौधरी, पार्वती खतिवडा(ज्योति) र वडाध्यक्ष रोहित प्रसाईले मत दिएर जिताएको जनाइएको छ । एक मत बदर र एउटा मतपत्र खाली रहेको थियो । विवाद भएर चारपटक स्थगित भएको निर्वाचन शनिवार सम्पन्न भएपछि नयाँ नेतृत्व चयन भएको हो । गत फागुन २० गते कृषि बजारका व्यवसायीहरुको निर्वाचन भएको थियो । त्यसको भोलिपल्ट किसानहरुको निर्वाचन तोकिएको थियो । तर विवादका कारण चार पटक निर्वाचन स्थगित भएर शनिवार निर्वाचन सम्पन्न भएको हो । आज सम्पन्न किसानहरुको निर्वाचनबाट पार्वता बजगाई बुद्धशान्ति ३०, पूर्ण खड्का मेचीनगर २९ र निरज ओली बिर्तामोड २३ मतसहित निर्वाचित भएका थिए । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । बिर्तामोड, अर्जुनधारा, कन्काई, मेचीनगर, भद्रपुर नगरपालिका तथा बाह्रदशी, हल्दिवारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँच–पाँच जनाको दरले किसान प्रतिनिधि पठाएका थिए । तिनै ४० जना किसान प्रतिनिधिहरुको निर्वाचन भएको थियो । निर्वाचनमा ३९ जनाले भाग लिएका थिए । यसअघि माघ २० गते भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचित हुनेहरुमा इन्द्रजित चौधरी, पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । शनिवार निर्वाचित भएका किसान प्रतिनिधि र माघ २० गते निर्वाचित व्यवसायी प्रतिनिधिहरुले अध्यक्ष चयन गरेका हुन् ।  
सम्बन्धित खबर