बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कनकाईमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

बिहिवार, फागुन ३, २०८०
झापा । झापाको कनकाई नगरपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी सुनसरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भ्रष्टाचार नियन्त्रणका प्रयास अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयबाट मात्र पर्याप्त नहुने हुँदा स्थानीय तहकोसमेत साथ रहनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका शाखा अधिकृत दिपक कार्कीले बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका इन्जिनियर परिवेस फुयालले बिगतदेखि बर्तमानसम्मको भ्रष्टाचारको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । भ्रष्टाचार नियन्त्रणका लागि दोषीलाई समाजले सामाजिकरुपमा समेत बहिस्कार गर्नसक्ने क्षमता राख्न सक्ने उदाहरणका भिडियोसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले भ्रष्टाचारले मान्छेलाई समाजमा लज्जित मात्र होइन, उदाउँदै गरेको नयाँ पुस्तालाईसमेत असर गर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका कतिपय मुद्दाहरूमा छानविनका लागि सहज नहुने गरेको बताइन्छ । कतिपय मुद्दाहरू प्रमाणविना दुःख दिने नियतले दायर हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सिनियर डिभिजन इन्जिनियर धिर फडेराले बताउनु भयो । मुद्दा दायर गर्ने ब्यक्तिले कस्लाई, कुन कारण र कार्यालयसमेत नखुलाई दिँदा छनविनमा समस्या पर्ने गरेको उहाँले बताउनुभयो । त्यसैले कर्मचारीहरुले ध्यानपूर्वक नीति संगत ढंगले काम गर्नु पर्ने उहाँको भनाइ थियो । जन प्रतिनिधिहरुले समेत नियमसंगत निर्णयलाई प्राथमिकता दिनु पर्ने उहाँले बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा झापा जिल्लाका मात्र १ सय ७७ बटा मुद्दा छानविनमा रहेको अख्तियारको तथ्यांकले देखाएको छ । स्थानीय तहमा धेरैजसो मुद्दा पर्ने गरेको र कोशी प्रदेश अन्तर्गत सबैभन्दा बढी मुद्दा पर्ने जिल्लाहरुमध्ये झापा चौथो नम्बरमा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यो तथ्याङ्कलाई हेरेर आगामी दिनमा झापा जिल्लाले भ्रष्टाचारलाई शून्यतर्फ लानका लागि संबेदनशील हुन जरुरी देखिन्छ । कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सिडिई धिर फडेराको अध्यक्षतामा सञ्चालन भएको थियो भने कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कर्मचारी रामप्रसाद राईले सञ्चालन गर्नु भएको कार्यक्रममा कनकाई नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य साथै सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर