बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा

बिहिवार, माघ १८, २०८०
झापा । झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ । भारतसंग सीमा जोडिएको झापामा आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो । बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ । गौरीगञ्ज–२ मा बिओपी लालमाटी, गौरीगञ्ज–४ मा बिओपी अल्तामारी र कचनकवल–५ मा बिओपी डागाबारी स्थापना भएको हो । बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको सशस्त्र प्रहरी बल नम्बर २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेललगायतले संयुक्त रूपमा उद्घाटन गरे । योसँगै भारतसँग १४४.२ किलोमिटर सीमा जोडिएको झापामा सीमा सुरक्षाका लागि प्रस्तावित चार गुल्म र १७ बिओपी तैनाथ रहेको अर्यालले बताए । अझै विभिन्न १५ स्थानमा बिओपी निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले अन्तर्राष्ट्रिय सीमामा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी तैनाथ रहेको बताए । उनले सीमामा हुने अपराध रोक्न सके आन्तरिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सीमामा सशस्त्र प्रहरीले शून्य सहनशीलता अपनाएर काम गरिरहेको जिकिर गरे ।
सम्बन्धित खबर