बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानका साथै देश बनाउन विद्यार्थी ननेताहरू जुट्नु पर्छः मुख्यमन्त्री कार्की

आइतवार, माघ ७, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरूलाई झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला भएको बताउनु भएको छ। पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय प्रविधि मेला झडेल्टा ४.० को समापन कार्यक्रममा आइतबार मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले अब नेताको पछि लाग्नुभन्दा पनि समाज र देशको लागि काम गरेर नमूना प्रदशर्न गर्नुको विकल्प नभएको बताउनु भएको हो । अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयो भनेर लेख्दै चित बुझाइरहेको अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ, उहाँले भन्नुभयो समाजिक सञ्जालमा भ्रष्टाचार भएको पोष्ट्याएर फेरि नेताको स्तुति गानमा लाग्ने गरेको देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालको पोष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्दैन ? क्याम्पसलगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलो भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाउनु भएको छ । शैक्षिक संस्थालाई ज्ञानको मन्दिर बनाइराख्न विद्यार्थी नेताको भूमिका खोइ ?, के विद्यार्थी नेताको काम नेताहरूको घर चहार्ने र स्तुतिगान मात्रै हो ?, उहाँले भन्नुभयो, अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुको विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलोलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ । संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिको गहन अध्ययनले वैज्ञानिक भएको सबै विद्यार्थीहरूले पढ्ने गरेको तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेको दैखेर उदेक लागेको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । त्यसैले समाज, प्रकृति र देश पढ्ने, अध्ययन र अनुसन्धान गरेर देश र समाज परिवर्तनका लागि योगदान गर्ने विद्यार्थीको साथ प्रदेश सरकारको रहने उनले प्रतिबद्धता जनाउनु भएको हो । प्रदेश सरकारले तुइन मैत्री प्रदेश बनाउन ल्याएको योजना सफल बनाउन यस क्याम्पसमा इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग सहकार्य गर्न मुख्यमन्त्री कार्कीले आह्वान गर्नु भएको छ । उहाँले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेको एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूको फरक ढंगले प्रदेश सरकारसँगको सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गर्नु भएको हो । प्रदेशभरि निर्माण भइरहेका सडक, भवनलगायतका भौतिक संरचनाको प्राविधिकीय दृष्टिकोणले अनुगमन गरेर प्रदेश सरकारलाई प्रदेशमा सुशासन कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गर्नु भएको छ ।
सम्बन्धित खबर