झापा । झापाको कनकाई नगरपालिकाले पशुहरुमा लाग्ने महामारीजन्य खोरेत रोग निवारणका लागि खोप कार्यक्रम सञ्चालन गरेको छ । नगरका ९ वटै वडाका कृषकहरुका घरघरमा पुगेर उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
कनकाईन गरपालिका पशुपछिं तथा मत्स्य विकास शाखामार्फत हरेक वर्ष नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष १६ गते देखि सञ्चालन भएको बताउँदै पशुपन्छि तथा मत्स्य विकास शाखाका पशु चिकित्सक कुलबहादुर गुरुङले खोप निशुल्क सञ्चालनका लागि आवश्यक प्राविधिक ब्यवस्थापन गरिएको पनि बताउनु भयो ।
कनकाई नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र भद्रपुरको सहयोगमा सञ्चालन गरिएको खोप कार्यक्रम कोशी प्रदेशबाट समेत थप सहयोग प्राप्त भएको छ । कनकाई नगरपालिका वडा नं. १ मा विगत १० वर्षदेखि गाई फम सञ्चालन गरिरहनु भएकी कृषक मुना रिजालले नगर प्रमुखको सक्रियतामा कार्यक्रम सञ्चालन भएकोमा खुसी ब्यक्त गर्दै हाल गाईलाई खुवाउने दानाको मुल्य बढेको तर दुधको मूल्य नपाएको बताउनु भयो ।
कनकाई नगरपालिकाले हरेक वर्ष कृषकको गोठमा पुगेर खोरेतको मात्र होइन विभिन्न रोग विरुद्धको औषधि उपचार गरिरहेको छ । खोप कार्यक्रमका लागि नगरपालिकाले विज्ञापन गरेर खोप कर्ताको ब्यवस्थापन गर्दै ग्रुप निर्माण गरेर काम भइरहेको पशुपंछि तथा मत्स्य विकास शाखाका पशु चिकित्सक कुलबहादुर गुरुङले बताउनु भयो ।
कनकाई नगरपालिकाले कृषकहरुलाई आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै खोप कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । आम नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित विषयका सरोकारवाला निकायहरुसँगको समन्वयमा गतिविधि सञ्चालन गर्ने गरेको छ । नगरपालिकाको तर्फबाट वार्षिक रुपमा पशु हेल्थ क्याम्प सञ्चालन गर्ने गरेको बताउँदै लम्पीस्किन विरुद्धको खोप लगायत विभिन्न रोग बिरुद्धका खोप कार्यक्रमहरु सञ्चालन गरिरहेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
कनकाई नगरपालिकामा सञ्चालन भएका पशु विकास कार्यक्रमहरु प्रभावकारी रहेका छन् । प्रचार भन्दा पनि कामका लागि संबेदनशील नगर प्रमुख भएका कारण पनि सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो रहेको पाइन्छ । त्यसैले जनताको कामका लागि कनकाई नगरपालिकाले आफ्नो स्रोत साधनले भ्याएसम्म परिणाममूखी काम गरिरहेको पाइन्छ ।