विर्तामोड, झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमको नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने बताउनुभएको छ ।
महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामोड–३, झापाको६६ अौं वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमको नाममा हुँदा खाने र हुने खाने वर्गबीचको विभेदकारी शिक्षा दिने कार्य तत्काल रोक्नुपर्ने बताउनस भएको हो । ‘भाषा ज्ञान होइन माध्यम मात्रै हो,’ उहाँले भन्नुभयो, ‘विद्यालयमा धनीका छोराछोरीलाई अंग्रेजी र गरीवका छोराछोरीलाई नेपाली माध्यममा शिक्षा दिएर विभेद भइरहेको छ । अहिले लोकतान्त्रिक व्यवस्थामा कसैले कसैलाई विभेद गर्ने छुट कानूनले दिएको छैन ।’
हुने खाने र कर्मचारी वर्गले गरीव विद्यार्थीका लागि राज्यले दिने छात्रवृति सुबिधा हात पार्न सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको विभेदकारी शिक्षा सुरू गरेको मुख्यमन्त्री कार्कीको आरोप छ । ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको भन्दै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने हुने खाने र कर्मचारी वर्गले किन समुदायिक विद्यालयमा पढाउन थालेका छन् ?,’ उहाँले भन्नुभयो, ‘निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृति नपाएपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाउन लगाएका छन् । तर त्यो अंग्रेजी माध्यममा गरीवका छोराछोरीले भर्ना पाउँदैन । उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेको छ ।’
धनी र गरीव भनेर दिने शिक्षाले गरीव विद्यार्थीमा सम्मानको भावना विकास हुन्छ कि विद्रोहको भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गर्नु भएको हो । ‘विद्यालयले दिइरहेको विभेदकारी शिक्षाले हुँदा खाने र हुने खाने वर्गबीच खाडल बनाउँदै छ,’ उहाँले भन्नुभयो, ‘विद्यालयको प्रांगनमा हुँदाखाने र हुनेखाने वर्गका लागि छुट्टाछुट्टै शिक्षा दिने विद्यालयले म हुँदासम्म प्रदेश सरकारले सहयोग गर्दैन । ’विद्यालयले हुँदा खानेको पैसाले हुने खाने वर्गलाई सहयोग गर्दै समान शिक्षा दिनुपर्ने उहाँको भनाइ थियो ।
पैसा अभावमा अब कोही गरीवका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनु नदिन प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । ‘डाक्टर बन्न चाहने गरीवका छोराछोरीको पैसा अभावमा पढाइ रोकिदैन,’ उहााले भन्नुभयो, ‘चिकित्सा, पशु, कृषि, कानूनलगायतका विषयमा गरीवका छोराछोरीलाई पढाउन छात्रवृतिको व्यवस्था गरेर प्रदेश सरकारले मानवीय विकासका लागि पाइला चालिसकेको छ ।’
ज्ञान बाँड्ने थलो विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गर्नु भएको हो । विद्यालय ज्ञान बाँड्ने थलो नै रहनुपर्छ र त्यसलाई ज्ञानको मन्दिर बनाइ राख्नु हामी सबैको दायित्व हो,’ उहाँले भन्नु भयो, ‘सामुदायिक विद्यालयहरूको नेपाली माध्यममा भइरहेको पठन पाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको छ ।’ एउटै विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा गुण्स्तरीय छ तर नेपाली माध्यममा शैक्षिक वातावरण नै छैन । आखिर किन यस्तो विभेद ?’ नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुने खाने वर्गका बुहारी, स्वास्नी, छोरीहरूले जागिर खाने थलोको रूपमा समेत विकास भइरहेको प्रति मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गर्नु भएको छ ।
‘शिक्षकहरूले विद्यार्थीहरूलाई दिएको ज्ञानको परीक्षा विपद्को वेला हुन्छ, आगलागी भइरहेको बेला विद्यार्थी तथा युवा वर्गले फेसबुक लाइभ गरेर रमाइलो गरिरहेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘शिक्षकले दिएको ज्ञान अहिलेका विद्यार्थीहरू विरोधमा लेख्दै समाजिक सञ्जालमा खन्याएको देखिन्छ त्यसैले शिक्षक तथा गुरु वर्गले पनि कस्तमे शिक्षा दिइरहेको बारे सोच्नै पर्ने बेला आएको छ ।’ अहिलेका विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको अभाव रहेकाले समाज विकृत हुँदै गएको उहाँको भनाइ थियो ।
‘अब विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको वपकल्प छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले भावी पुस्ताको भविष्य सुरक्षित गर्न हामी सबैले हातेमालो गरेर विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जुट्नुको विकल्प छैन ।’