बुधवार, असोज ३०, २०८१
Sancharmanch

कोशीका दुध उत्पादक किसानले पाएन २५ करोड भुक्तानी कोशी सरकारले कार्यविधि बनाएर दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्दै

मङ्गलवार, पौष ३, २०८०
विराटनगर । कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दुध उत्पादक किसानको ६ महिनादेखिको २५ करोड भुक्तानी नदिपछि प्रदेश सरकारले निर्यातका लागि अनुदान दिन लागेको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित दुध उत्पादक किसानसँगको अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले यस प्रदेशमा दुध उत्पादक किसानहरुले भोग्दै आएको समस्या समाधानका लागि सरकारले तयारी थालेको बताउनु भएको छ । ‘यस प्रदेशमा रहेको विराटनगर दुग्ध वितरण आयोजना लगायतका निजी डेरीहरुले उत्पादन गरेको दुधजन्य पदार्थ बिक्री नहुँदा किसानको भुक्तानी दिन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले यस प्रदेशमा भण्डारण गरिएको दुधजन्य पदार्थ निर्यातका लागि प्रदेश सरकारले अनुदान दिने तयारी गरेको छ ।’ चालु आर्थिक वर्षको बजेटमा दुधजन्य पदार्थ घ्यू र धुलो दुध निर्यातमा अनुदान दिने व्यवस्था गरिएको छ । उक्त बजेट वितरणका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगैको मन्त्री राईले बताउनु भएको हो । इलामका दुध उत्पादक किसान भूपेन्द्र गड्तौलाले विराटनगर दुध वितरण आयोजनाले दुधको भुक्तानी नदि“दा गाईबस्तुलाई खुवाउने दाना, छोराछोरीको पठनपाठनका साथै घर व्यवहार चलाउनसमेत समस्या भएको बताउनुभएको छ । ‘गत असार महिनादेखि विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरुलाई दुधको भूक्तानी दिएको छैन,’ उहाँले भन्नु भयो, ‘आयोजनाले एकातिर दुधको भुक्तानी दिइरहेको छैन भने अर्कोतिर दुध किन्न पनि छाडिसकेकाले किसान दाहोरो मारमा परेका छन् ।’ अर्का किसान भरत तिम्सिनाले विराटनगर दुग्ध वितरण आयोजनाले इलामका किसानसँग यसअघि ६÷७ हजार लिटर दुध दैनिक खरिद गर्दै आएको तर अहिले ६÷७ सय लिटर पनि खरिद नगरिदिएको गुनासो पाख्नुभएको छ । ‘ऋण लिएर गाईबस्तु खरिद गरेर दुध उत्पादन गर्दै आएको किसानहरु दुध बिक्री नहुँदा टाट पल्टिने अवस्थामा पुगेका छन्,’ उहाँले भन्नु भयो, ‘यसअघि बिक्री गरेको दुधको भूक्तानी नपाउनु, अर्कोतिर उत्पादित दुध नबिकेर गाईबस्तुका लागि दाना किन्न नसक्नुका साथै ऋणको किस्ता तिर्न निकै सकस परेको छ ।’ उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख प्रमेश्वर चौधरीले किसानबाट संकलित भएको दुधबाट उत्पादित दुग्धजन्य पदार्थको बजारीकरणको अभावमा त्यसै थन्किएर राख्नुपरेकाले किसानलाई भूक्तानी दिन कठीनाइ भएको गुनासो पाख्नुभएको छ । उत्पादित दुग्धजन्य पदार्थ भण्डारण गरेर लामो समय राख्दा लागत मूल्यमा बृद्धि भइरहेको उहाँले गुनासो पोख्नुभयो । दुग्धजन्य पदार्थलाई निश्चित तापक्रममा राख्दा विद्युत खपत हुने गरेको छ । ‘विगत ६ महिनादेखी संस्थानले किसानको २५ करोड भुक्तानी तिर्न सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘किसानलाई भूक्तिानी दिनका लागि केन्द्र सरकारस“ग ऋण लिन पहल भइरहेको छ र ऋण प्राप्त हुने वित्तिकै किसानलाई भूक्तानी गर्छु ।’ प्रमुख चौधरीले घ्यू र धुलो दुध निर्यातमा प्रदेश सरकारले छिट्टै सहजीकरण गरिदिए दुग्ध वितरण आयोजना ऋणको भारबाट मुक्त हुने बताउनु भएको हो । निजी डेरी सञ्चालकहरुले बंगलादेश, जापानलगायतको देशमा दुधजन्य पदार्थ निर्यातका लागि प्रयास गरिरहेकाले प्रदेश सरकारले निर्यातमा अनुदान दिन लागेको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले यहा“ भण्डारण रहेका दुग्धजन्य पदार्थ तेस्रो मुलुक निर्यात गर्नका लागि प्रदेश सरकारले दिने अनुदानका लागी कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले कार्यविधि मन्त्रिपरिषद्बाट तत्काल पारित गराएर अनुदान वितरण प्रक्रिया सुरु गर्नुका साथै दुध उत्पादक किसानका साथै व्यवसायीको समेत समस्या समाधानमा मन्त्रालय लागि परेको बताउनुभयो ।  
सम्बन्धित खबर