शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

अपाङ्ग दिवसमा ऊर्जाशील रामधुनी आमा समूह द्वारा सहयोग प्रदान

आइतवार, मंसिर १७, २०८०
झापा/ संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरी हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवस आइतबार देशैभर मनाइएको छ । United in action to rescue and achieve the SDGs for, with and by persons with disabliities भन्ने अन्तर्राष्ट्रिय नारा र “दिगो विकासको लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता“ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधिसहित मनाइएको छ । सोही अवसर पारेर विर्तामोड नगरपालिकामा क्रियाशील ऊर्जाशील रामधुनी आमा समूहले तिहारको समयमा संस्थाबाट सञ्चालन भएको देउसीभैलो कार्यक्रमबाट उठेको रकममध्ये १५ हजार रुपैयाँ बराबरको सामग्री अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरेको छ । जसमा १० वटा ब्लाङ्केट, ५० किलो चामल र फलफूल वितरण गरेको हो । संस्था दिदी बहिनीहरुको साझा प्रयासमा स्थापना भएको बताउँदै दाताहरुको पैसाबाट सहयोग जुटाएको समूहकी अध्यक्ष गंगा सिवाकोटी (ढकाल) ले बताउनुभयो । नेपालको संविधान, नीति र कानूनहरूमा देखिएका अधिकारमुखी ब्यवस्थाहरुबाट केही उपलब्धीमूलक परिणामहरु देखिए पनि नीति र कानूनमा भएका व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउँदै अपाङ्गता भएका व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भने राज्यका प्रयासहरु यथेष्ट नभएको देखिन्छ । अपाङ्गता भएका नागरिकहरुलाई राज्यले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा भने अझै पनि परिवर्तन हुन सकेको पाइँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी, पुर्नस्थापना, सहभागिता, प्रतिनिधित्व, न्यायमा पहुँच जस्ता अत्यावश्यक अधिकारलाई समावेशी बनाउन सके देशले समृद्धिको पाइला अगाडि बढाएको महसुस हुनेछ । विभिन्न समयमा अपाङ्गता भएका व्यक्तिहरु माथि हुने मानवअधिकार हननका घटनामा राज्य न्यायोचित खवरदारी गर्न चुकिरहेको देखिन्छ । राज्यका हरेक निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गर्न र सशक्तिकरणका क्षेत्रमा कार्यक्रम तर्जुमा गर्न त्यतिकै जरूरी देखिन्छ । दिगो विकास लक्षका कार्यक्रम र यसको सहभागितासँग जोडिएका कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू समेटिन सकेका छैनन् जसको लागि राज्य जिम्मेवार बन्न जरुरी छ ।
सम्बन्धित खबर