बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गाउँगाउँमा जाडोको कपडा निशुल्क बाँड्दै उज्यालो परिवर्तन समाज नेपाल

आइतवार, मंसिर १७, २०८०
झापाको विर्तामोडमा स्थापना भएको उज्यालो परिवर्तन समाज नेपालले विर्तामोड नगरपालिका वडा नं. ९ का विपन्न नागरिकहरुलाई जाडोका लागि कपडा वितरण गरेको छ । विर्तामोड नगरपालिका भित्रका सहयोगी मन भएका दाताहरुवाट सहयोग स्वरुप संकलन भएका कपडाहरु विभिन्न उमेर समूहका विपन्न नागरिकहरुलाई वितरण गरिएको हो । संस्था स्थापनाको एक महिना मात्र पूरा हुँदै गर्दा महत्वपूर्ण काम गरेको उज्यालो परिवर्तन समाज नेपाल समाज रुपान्तरणमा एउटा इँटा थपेको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले कपडा वितरण गरेर संस्थाले गरेको सामाजिक योगदानको उच्च मूल्याङ्कन भएको बताउनुभयो । दाताबाट संकलन भएको कपडा वितरणका लागि विर्तामोड नगरपालिका वडा नं. ९ सँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा एक लाख ७५ हजार रुपैयाँ बरावरको न्यानो कपडा २ सय ४६ जनालाई वितरण गरिएको थियो । संस्थाले सदैव सामाजिक सेवाको भावले समाज रुपान्तरणको काम गर्ने हुँदा सम्पूर्ण नागरिकहरुको साथ र सहयोग आवश्यक रहेको देखिन्छ । कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो । विर्तामोड नगरपालिका वडा नं. ९ का अध्यक्ष हरि चम्लागाई, सामाजिक ब्यक्तित्व प्रकाश बुढाथोकी, सुमन श्रेष्ठ लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रकाश बुढाथोकी र शंकर राजबंशीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाका सल्लाहकार विर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले स्वागत गरेको कार्यक्रम संस्थाका सचिव पुष्प पाठकले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर