बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान, मुक्ति चोकमा दिप प्रज्वलन

शुक्रवार, मंसिर १५, २०८०
झापा / लैङ्गिक हिंसा विरुदको १६ दिने अभियानको अवसरमा मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा शाखाले बिहीबार साँझ झापाको विर्तामोडस्थित मुक्ति चोकमा दीप प्रज्वलन गरेको छ । १६ दिने अभियान अन्तर्गतको अभियान स्वरुप नेपालको राष्ट्रिय झण्डाको आकारमा बत्ती बालेर कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले सामान्यतया लैङ्गिक हिंसाको रुपमा महिलाहिंसालाई मात्र नबुझ्न आग्रह गर्दै पुरुषहरु साथै तेश्रो लिङ्गी पनि हिंसामा पर्ने गरेको हुँदा यी सम्पूर्ण बिभेदको अन्त्यका लागि लैङ्गिक हिंसाले सम्बोधन गरेको बताउनुभयो । कार्यक्रम आयोजना गरेको मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा शाखाले समाज परिवर्तनका लागि असहाय बालबालिका, उत्पीडनमा परेका जेष्ठ नागरिकहरुको उद्धार तथा बिपन्न समुदायका लागि विभिन्न समयमा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको कार्यक्रम सञ्चालक तथा संस्थाकी झापा जिल्ला सचिव समिरा बजगाईले बताउनुभयो । लिंगका आधारमा गरिने सबै प्रकारका हिंसाको अन्त्यका लागि हरेक वर्ष अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यस अवसरमा विभिन्न सामाजिक संघ संस्था साथै सरकारी निकायहरुले समेत विभिद कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सोही अभियान अन्तर्गत मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा शाखाले शाखाकी उपाध्यक्ष मन्जु ओलीको अध्यक्षतामा सम्पन्न गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीको प्रमुख आथित्यता रहेको थियो । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा शाखाका सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो । त्यसैगरी विर्तामोड नगरपालिकामा सक्रिय ऊर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी, कार्यसमिति सदस्य सरिता थपलिया, सदस्य बालादेवी खरेल, सामाजिक ब्यक्तित्व तथा सदस्य बिना गुरुङ, सदस्य पुष्पा सुबेदी, कला बस्नेतलगायतको सहभागिता रहेको थियो । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले ल्रङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनसम्म देशैभर सञ्चालन गरिने गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
सम्बन्धित खबर