बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संसदीय समितिका सभापतिसहितको टोली सुपारी बगानमा

बुधवार, मंसिर १३, २०८०
 झापा । नेपालमा प्रमुख रुपमा सुपारी उत्पादन हुने झापा जिल्लाका ३ वटा पालिका अर्जुनधारा, बुद्धशान्ति र मेचीनगर क्षेत्रमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वको टोलीले अनुगमन गरेको छ । नेपालमा उत्पादन भएको सुपारी निकासीमा डिएनए परिक्षणको बहाना बनाएर राजनीतिक खेल सुरु भएपछि विगत एक वर्षयता नेपालमा उत्पादन भएको सुपारी भारत निर्यातका लागि रोकिएको छ । नेपाल सुपारी खेती विकास संस्थाको निरन्तरको प्रयासमा  सुपारी निर्यातका लागि सरकारका विभिन्न समितिहरुमा छलफलहरु भएका थिए । नेपालमा उत्पादन भएको सुपारी भारत निर्यात हुन नसक्दा नेपालको पुर्वीद्वार काँकरभिट्टाबाट चोरी निकासी गर्दै भारतसम्म पुग्ने गरेको छ । जस्ले गर्दा नेपाल सरकारले निकासीबाट प्राप्त गर्ने ठूलो राजश्व रकम गुमाइरहेको छ । यसको समाधानका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई आग्रह गर्नुभयो । निर्यात समस्याको समाधानका लागि नेपाल सरकारलाई निर्देशन जारी गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरुको टोलीले झापामा सुपारी उत्पादन हुने क्षेत्रहरुको अवलोकनसँगै अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हो । आफ्नो गाउँपालिका क्षेत्रका कृषकहरु पूर्ण रुपमा सुपारी खेतीमा निर्भर रहेको साथै आफू स्वयम सुपारी खेतीमा आश्रित रहेको बताउँदै बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईंले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई निर्यातको बाधा फुकाइदिन आग्रह गर्नुभयो । झापा जिल्लामा सुपारी उत्पादनको बस्तुस्थिति अवलोकनका लागि आएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरुले मंगलवार दिनभर कृषकका बगान, संकलन साथै प्रशोधन केन्द्र र सुपारीको ठ्याङबाट निर्माण गरिने दुना टपराको उद्योगको अध्ययन अवलोकनसमेत गरेको थियो । सम्पुर्ण बस्तुस्थितिको अवलोकन पछिको छलफलमा झापा जिल्लाबाट सुपारी उत्पादन गरेर देशको आर्थिक अवस्थामा टेवा पुर्याउन कम्मर कसेको नेपाल सुपारी खेती विकास संस्थालाई धन्यवाद दिँदै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य सांसद रणेन्द्र बरालीले बगानहरु घुमिरहँदा देशका सिंगो तराई क्षेत्रमा सुपारी खेती विकास गर्न जरुरी रहेको बताउनुभयो । नेपालमा उत्पादन भएको सुपारीलाई अखाद्य बस्तुको नजरले हेरेको नेपाल सरकारका बिभिन्न निकायहरुले स्थलगत रुपमा अवलोकन गरी यसको महत्व पहिचान गर्न जरुरी रहेको सन्दर्भमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति वाट भएको अनसगमन बाट कस्तो परिणाम आउँछ ? त्यो सरकारको आगामी कदमले बताउनेछ । आफ्नो पार्टीले कसैबाट चुनाव खर्च नलिएको प्रष्ट पार्दै आफू कसैको दवावमा नपरी कृषकको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साना तथा घरेलु उद्योग स्थापना गर्नमा सरकार चुक्नु नहुने उहाँको भनाइ थियो । देशले चाहिरहेका कुराहरु निर्णय गर्न चुक्न नहुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताउनुभयो । त्यस्तै सिंहदरवार केवल नेताहरुको नभएर जनताको भएको उल्लेख गर्दै सुपारी निकासीका लागि बाटो खुलाउन आफू लागि पर्ने समेत उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट भएको स्थलगत अनुगमनबाट परिणम आउनेमा सुपारी उत्पादक कृषकहरु निर्धक्क रहेका छन् । मन्त्रालयमा बुझिने कुरा र वास्तविकताका लागि कृषकका बारीसम्म पुग्दा पाइने कुरामा फरक हुने वताउँदै हात्ती प्रभावित क्षेत्रका लागि प्रभावकारी बालीको रुपमा परिचित सुपारी निकासी समस्या समाधान हुनेमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । संघीय संसद, प्रतिनिधी सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सदस्य सांसद रणेन्द्र बराली, सदस्य रमा कोइराला पौड्याल, सदस्य सांसद रेखा यादव, सदस्य सांसद सिता मिजार, सदस्य सांसद हेमराज राई, समिति सचिव राजकुमार पौडेल, शाखा अधिकृत सुशिल कुमार खड्का लगायतको टोलीले झापाको सुपारी खेती अवलोकन गरेको छ ।
सम्बन्धित खबर