शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

बिर्तामोड ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण

बुधवार, कार्तिक २२, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरीएको छ ।
 नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज आयोजित एक कार्यक्रमका विच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्युवेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोलविकास संस्था र सशस्त्र प्रहरी वेस क्याम गोलधापलाई गरि १५५ थान टर्च लाईट वितरण गरिएको हो ।
 कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको माग वमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको करिव १३ कि.मी. क्षेत्रमा सोलार फेन्सिङ्ग गरिने योजना रहेको जानकारी दिनु भयो । उहांले योजनाको काम तिहार लगत्तै सुरु गरिने तयारी रहेको पनि बताउनु भयो ।
 नगरप्रमुख प्रसाईले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ्गका लागि आवश्यक बजेटको माग गर्दै २०७९ चैत २६ गते राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पत्राचार गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले वडा नम्बर ७ मा हात्ती नआएको दिन नभएको भन्दै आज वितरण गरिएको लाइटले केहि हदसम्म भएपनि घपाउन सहयोग मिल्ने बताउनु भयो । आफ्नो वडामा ट्युवेल पनि नभएका घरहरु धेरै रहेकोले २० वटा ट्युवेल बांड्ने योजना अनुसार १६ वटा वितरण गरिएको जानकारी दिनुभयो ।
 वडा कार्यालयले नगरपालिकाको सहयोगमा टर्च लाईट वितरण गरेको हो। कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाई , विशेष अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडाअध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, समाजसेवी केशवराज कार्की, हिमाल सिटौलाले टर्च लाइट तथा ट्युवेल हस्तान्तरण गर्नुभएको थियो ।
 बिर्तामोड नगरपालिकाका न्यायिक समिति सदस्य खडानन्द निरौलाले स्वागत गरेको कार्यक्रमको सन्चालन युवराज निरौला राजनले गर्नु भएको थियो ।
सम्बन्धित खबर