बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महासमिति निर्वाचन कात्तिक २२ मा

आइतवार, कार्तिक १९, २०८०
बिर्तामोड, कात्तिक । नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचन यही कात्तिक २२ गते शुरु हुने भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न जिल्ला कार्य समितिको विस्तारित बैठकले २२ गते महासमिति सदस्यको निर्वाचन प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । झापाका पाँचवटै क्षेत्रबाट ११÷११ जना गरी ५५ जना महासमिति सदस्य उक्त निर्वाचनबाट निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्र–क्षेत्रमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृत तय गरिएको छ । नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटै क्षेत्रमा २ महिलासहित ७ जना खुल्ला, खसआर्यमा १ महिला १ खुल्ला एवं आदिबासी÷जनजातिबाट १ महिला १ खुल्लासहित ११ जना निर्वाचित हुनेछन् । २२ गते प्रारम्भ भएको निर्वाचन सहमतिमा महासमिति सदस्य चयन भएमा २२ गते नै समाप्त हुनेछ भने सहमति नभएको अवस्थामा २३ गते मतदान हुने र सम्बन्धित क्षेत्रका क्षेत्रीय प्रतिनिधिले मत दिनेछन् । बैठकले जाँजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त गर्दै यथासक्य राहत, उद्धार र पुनस्र्थापन कार्यक्रम तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ । बैठकको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।
सम्बन्धित खबर