बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गठबन्धन दललाई असफल बनाउन प्रतिपक्षीहरु सक्रिय रमेश लेखक

आइतवार, कार्तिक १९, २०८०
बिर्तामोड , कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गठबन्धन दललाई असफल बनाउन प्रतिपक्षीहरु सक्रिय रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लेखकले यस्तो धारणा राख्नुभएको हो । ‘कोशी प्रदेशको राजनीतिले गठबन्धन असफल बनाउन प्रतिपक्षी दल सक्रिय रहेको स्पष्ट पार्छ’–प्रतिनिधिसभाका सांसद समेत रहनुभएका लेखकले भन्नुभयो–‘प्रदेश राजनीतिले प्रतिनिधिसभा पनि जुनसुकै बेला विगठन हुन सक्ने देखाउँछ ।त्यसप्रति गठबन्धन दल सचेत हुन जरुरी छ ।’ ७ दशकको अवधिमा पाँचवटा संविधान असफल हुनु राजनीतिक अस्थिरताको उदाहरण हो भन्नुहुँदै नेता लेखकले अहिलेको संविधान असफल भए देश गम्भिर संकटमा फस्ने टिप्पणी गर्नुभयो । स्थानीय सरकार बाहेक प्रदेश र संघमा कांग्रेससँग स्पष्ट बहुमत नभएको बताउँदै नेता लेखकले संविधानको रक्षा, राष्ट्रियता र अन्तरदलीय प्रतिष्पर्धामा कांग्रेस कार्यकर्तालाई विभाजित नहुन आग्रह गर्नुभयो । ‘कांग्रेससँग स्पष्ट बहुमत छैन तर ठूलो दलको हैसियतले मुुलुकको ठिक ढंगले ब्यवस्थापन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ’– केन्द्रिय सदस्य लेखकले भन्नुभयो । देशभर बैचारिक अभियान सञ्चालन गर्ने क्षमता झापाले राख्ने बताउँदै नेता लेखकले झापाले शीर्ष राजनीतिक नेतृत्व जन्माएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाई, कोशी प्रदेश सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायत नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ नगर सभापतिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर