बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बने मुख्यमन्त्री केदार कार्की

सोमवार, कार्तिक १३, २०८०
बिर्तामोड  । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको एककुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला कार्य समितिको आयोजनामा आज आयोजित मुख्यमन्त्रीको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा राख्नुभएको हो । संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरुको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकुल रहेर मुख्यमन्त्रीको जिम्मेवारी संहाल्ने प्रतिबद्धता जनाउनुभयो । अधिकतम जनताको हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले दुईपटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक संहालेका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताउनुभयो । कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्य मन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको बताउनुभयो । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकारसम्पन्न एवं प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउनेगरी कार्य गर्न सुझाव दिनुभयो । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको जानकारी नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर