बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विर्तामोड साना शहरी खानेपानी डिजिटल प्रविधिमा रुपान्तरण

शनिवार, असोज २७, २०८०
विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संस्था सञ्चालन तथा शुद्ध खानेपानी वितरणसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । खानेपानी आयोजना सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न गतिविधिहरुमा सहयोग गरिरहेका कम्पनीका परामर्शदाताहरूको सहजीकरणमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण पदाधिकारी साथै कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मेघराज वाँस्तोलाको अध्यक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गर्नुभएको थियो । आयोजना गरिएको एक दिवशीय कार्यक्रममा संस्थागत विकास तथा वित्त ब्यवस्थापनका लागि परामर्शदाता तथा विज्ञ हर्कवहादुर क्षेत्रीले सहजीकरण गर्नुभएको थियो । क्षेत्रीले खानेपानी र यसको सञ्चालनको महत्वका वारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यसैगरि खानेपानी संस्थाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरणका लागि सहयोग गरिरहेको दियालो टेक्नोलोजीका रोशन गौतमले स्मार्ट टेक्नोलोजी ब्यवस्थापन प्रणालीका बारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो । यस प्रकारको कार्यक्रमबाट विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आम उपभोक्ताको घरसम्म पर्याप्त मात्रामा शुद्ध पिउनेपानी पुर्याउन सहयोग पुग्ने संस्थाका पदाधिकारीले अपेक्षा गरेका छन् ।
सम्बन्धित खबर