शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

पत्रकार दाहाललाई बन्धक बनाएको खुलासा

शुक्रवार, असोज १९, २०८०
झापा, असोज १९ । झापाको दमकस्थित एक सहकारीले समाचार लेखेको बिषयलाई लिएरे पत्रकारलाई बन्धक बनाएको खुलेको छ । दमकमा रहेको फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष संकल्प लिङ्देनले अग्रज पत्रकार गञ्जबहादुर दाहाललाई बन्धक बनाएका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवं पूर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक दाहाललाई समाचार लेखेको बिषयलाई लिएर बन्धक बनाएको खुलेको हो । महासंघ मोरङका पत्रकार घनश्याम भण्डारी माथि प्रकाशित समाचारको विषयमा पटक–पटक धम्की दिइएको घटनाप्रति महासंघ झापाको ध्यानाकर्षण भएको छ । लिङ्देनले असोज १३ गते पूर्व सन्देशमा प्रकाशित ’बचतकर्ताको रकम गायव !’ शीर्षकको समाचारको विषयमा पत्रकारलाई धम्की दिएका हुन् । पत्रकार दाहाललाई धम्क्याउदै सहकारीका अध्यक्ष लिङ्देनले सहकारीको दमकस्थित कार्यालयमा बोलाएर ‘तपाईं अहिले अपहरणमा पर्नुभएको छ, रिपोर्टरलाई यहाँ उपस्थित गराउनु, यो नमिलाएसम्म यहाँबाट जान पाउनुहुन्न’ भन्दै मानसिक तनाब दिएको घटनाप्रति पत्रकार महासंघ झापा शाखाले खेद प्रकट गरेको छ । पीडित पत्रकारका अनुसार लिङ्देनले फोन र म्यासेजमार्फत पनि पटक पटक धम्की दिएका छन् । महासंघ झापाका सचिव डिकेश लामाद्धारा हस्ताक्ष्र बिज्ञप्तीमा भनिएको छ ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानुनी उपचारमा जानसकिने विकल्प छ । पत्रकारलाई मानसिक तनाब दिँदै अपहरणमा समेत परेको भनी धम्क्याएको घटना अत्यन्त निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्यप्रति महासंघले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र पत्रकारिता माथिको ज्यादतीमा संलग्नलाई कानूनी दायरामा ल्याएर पीडित पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
सम्बन्धित खबर