बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारामा ६ जना अव्यवस्थित बसोबासीहरुलाई सभामुखद्वारा जग्गा धनीपूर्जा प्रमाण पत्र वितरण

बिहिवार, असोज ११, २०८०
झापाको अर्जुनधारा नगरपालिकाले ६ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा प्रमाण पत्र वितरण गरेको छ । पहिलो चरणको जग्गा धनीपूर्जा वितरण कार्यक्रम नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता साथै प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रहनु भएको थियो । नगरपालिका क्षेत्रभित्रका धेरै नागरिक जग्गा धनीपुर्जा प्राप्त गर्नवाट बन्चित भएको सन्दर्भमा अर्जुनधारा नगरपालिकामा एउटा परिणममुखी कार्यक्रमको थालनी भएको छ । कार्यक्रममा प्रमुख अतिथि साथै अतिथिहरुलाई स्वागत गर्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले आफूले पनि जग्गा धनीपूर्जा प्राप्त गर्न वाँकी रहेको बताउनुभयो । प्रमुख अतिथि घिमिरेको हातबाट अर्जुनधारा ११ का दुर्गाराज थापा र विष्णुमाया थापाको धनीपूर्जा छोरा नारायण थापालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलकसिंह पाण्डेले जग्गा धनीपूर्जा वितरणका लागि नगरमा केही अप्ठ्यारा भएको उल्लेख गर्दै समाधानका लागि प्रमुख अतिथि घिमिरेलाई अनुरोध गर्नु भयो । नगरपालिकाको सभाहलमा बुधबार आयोजना गरिएको कार्यक्रममा मदनकुमार भट्टराई र सीता बुढाथोकी, भवानीप्रसाद मैनाली र पुष्पा मैनाली, डम्बरबहादुर बस्नेत र कविता खड्का, गणेशबहादुर श्रेष्ठ र सुनैना गुप्ताले जग्गा धनीपूर्जा प्राप्त गर्नुभएको थियो । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेबसिंह गोम्देनले हालसम्म अर्जुनधारा नगरपालिका वडा नं. १ का ४९२ जना, वडा नं. ५ का एक हजार जना र वडा नं. ११ का ५७९ जनालाई निस्सा वितरण गरिएको र वडा नं. २, ६, ७ र ८ मा भने निस्सा वितरण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । अर्जुनधारा नगरपालिकामा ७ हजार ६ सय जनाले अव्यवस्थित बसोबासी, १ हजार २ सय जनाले भूमिहीन सुकुम्बासी र २ सय जनाले भूमिहीन दलितको फर्म भरेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रममा संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलकसिंह पाण्डेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्दै प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले पटक पटक भूमि आयोग विघटन हुँदा जनताले हरेक पटक निस्सा मात्र प्राप्त गरेको उल्लेख गर्दै यसलाई निरन्तर काम अगाडि वढाएर टुङ्ग्याउनु पर्ने वताउनुभयो । कार्यक्रममा जिल्ला मालपोत कार्यालय झापाका प्रमुख, नापी कार्यालय झापाका निमित्त प्रमुखसमेतको उपस्थिति रहेको थियो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाले देखाएको तदारुकता र विज्ञताका कारण झापा जिल्लाको विभिन्न स्थानका नागरिकहरुले जग्गा धनीपूर्जा प्राप्त गर्ने वातावरण तय भएको जिल्लाबासीहरूले बताएका छन् । जुन कामका लागि स्थानीय पालिका, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय लगायतका कर्मचारीहरुको अथक मिहेनत रहेको उनीहरूको भनाइ छ ।
सम्बन्धित खबर