बुधवार, असोज २, २०८१
Sancharmanch

बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु

शुक्रवार, असोज ५, २०८०
झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो ।
 कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताउनु भयो । कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उहांले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गर्नु भयो ।
 यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राख्नु भयो । उहांले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमासमेत सुक्ष्म तरिकाले हेर्न आग्रह गर्नु भयो । कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गर्नु भयो ।
तालिममा विशेषगरि भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
 आज देखि ६ दिन सन्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ्ग, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन संग्रौलाको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर