बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोशीमा किसानहरु द्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाए

आइतवार, भदौ १०, २०८०
नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । बिराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेको किसानहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो । बिगतदेखि बर्तमानसम्म जति सरकार परिवर्तन भएपनि किसानका समस्याहरु सम्बोधन नभएको भन्दै २० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले बताए । प्रारम्भमा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा प्रदेश सांसद उद्वव थापालाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा महासंघको तर्फवाट बधाईसहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य केशब भट्टराई तथा प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त समेत गरेका थिए । ज्ञापनपत्र पनि केन्द्रीय सदस्य भट्टराई र प्रदेश अध्यक्षले संयुक्त रुपमा बुझाएको सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री थापाले नेपाल किसान महासंघले निरन्तर रुपमा किसानका सवालमा काम गरिरहेको प्रति खुसी ब्यक्त गर्दै प्रदेशमा आफ्नो पार्टीको सरकार बनिरहदा थप अपेक्षा राख्नु स्वभाभिक भएको बताएका थिए । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले महासंघले उठाएका २० वटा मागहररु अत्यन्तै जायज र आवश्यक रहेको भन्दै यी बिषयमा कहाँ, कसरी र कहिलेसम्ममा सम्बोधन गर्न सकिन्छ ? यस विषयमा प्रदेश कृषिमन्त्री तथा कृषि मन्त्रालयसँग तत्काल बसेर छलफल गर्ने बताउनुभयो । ज्ञापनपत्रमा किसानलाई बर्गीकृत परिचयपत्र र त्यसकै आधारमा सेवासुविधा प्रदान गरिनुपर्ने, महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको रोकथाम र क्षतिको आधारमा किसानलाई क्षतिपूर्तिको ब्यवस्था गरिनुपर्ने, कृषि ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्ने, कृषि अनुदानलाई बर्गीकृत कोटा निर्धारण गरिनुपर्ने, कृषि उपजको आयात गर्दा परीक्षण गरेर मात्रै ल्याइनुपर्ने, रासायनिक मल र खाद्यान्न अभावको स्थायी समाधान खोज्नुपर्ने, कृषि ज्ञानकेन्द्रमार्फत सहज रुपमा कृषि प्राविधिक उपलब्ध गराइनुपर्ने, भुमीहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइनुपर्ने लगायतका माग समेटिएको महासंघ झापाका अध्यक्ष रतन थिङ्लावोले जानकारी दिनुभयो ।
सम्बन्धित खबर