बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा (माओवादी केन्द्र)की एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण

शुक्रवार, साउन ५, २०८०
बिर्तामोड, । नेकपा (माओवादी केन्द्र)की एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी दाहालको असार २७ गते निधन भएको थियो । पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज झलकसिंह दलार्मीले शोक मन्तव्य राख्दै पार्टीले असल अभिभाक गुमाएको बताउनुभयो । दिवंगत सीता माताले पार्टीलाई दिनुभएको योगदान चिरकालसम्म जीवन्त रहने बताउनुभयो । पार्टीका झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य (अग्नि) को अध्यक्षतामा भएको श्रद्धाञ्जली अर्पण कार्यक्रमको सञ्चालन सचिव मोहन टुडू (सरोज) ले गर्नुभएको थियो । शोक सभामा पार्टीका केन्द्रीय सदस्य पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने (सरु), भोजेन्द्र चौलागाईं लगायत सयौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सहभागीहरुले सीता माताको तस्वीरमा पुष्पगुच्छा अर्पण गरेर दिवंगत आत्मको चिरशान्तिको कामना गरेका थिए । १० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटक–पटक सरकारको नेतृत्वमा पु¥याउन असीमित निःस्वार्थ योगदान दिने सीता दाहाल वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको थियो । २०२६ सालमा प्रचण्डसँग विवाह गर्नुभएको उहाँ विवाह भएको दुई वर्षपछि २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा अबद्ध हुनुभएको थियो । राजनीतिमा तल्लो तह मानिने जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्दै दाहाल पछिल्लो समय पार्टीको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । माओवादी भूमिगत हुनुभन्दा अगाडि दाहाल पञ्चायत अवधिमा समेत लामो समय भूमिगत जीवनमा हुनुहुन्थ्यो । प्रचण्ड पत्नी सीताले लामो राजनीतिक जीवनमा कहिल्यै विवादास्पद काम गर्नुभएन । नेपालको राजनीतिमा नेताहरु परिवारका कारण विवादमा आएका थुप्रै उदाहरण छन् । तर, सीता दाहालले पार्टी अध्यक्ष प्रचण्ड र समग्र पार्टीलाई विवादमा तान्ने काम कहिल्यै गर्नुभएन । माओवादी पार्टीमा आफू जलेर अरुलाई उज्यालो दिने बत्तीको ‘सलेदो’को भूमिकामा दाहाल निरन्तर बस्नुभयो । यत्ति लामो राजनीतिक जीवनमा उहाँले कहिल्यै लाभको पद लिनुभएन । विवादास्पद अभिव्यक्ति दिनुभएन । स्वास्थ्यका कारण जीवनको कठिन घडीमा समेत उहाँले पतिको पदलाई लाभ लिनका लागि प्रयोग नगरेको उहाँको ६९ वर्षको उमेरमा प्रधानमन्त्री पत्नीको रुपमा भएको निधन भयोे ।
सम्बन्धित खबर