कोशी प्रदेशका पाँचौँ मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार अपराह्न पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका थापालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
शपथग्रहणसँगै नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धनमा रहेको एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएको छ । गठबन्धनमा सहभागि रहेको अर्को दल माओवादी केन्द्रबाट भने कोही मन्त्री नियुक्त गरिएको छैन ।
झापाका नेपाली कंग्रेसका प्रभावशाली युवा नेता खगेन्द्र मैनालीले मुख्यमन्त्री विकासका दृष्टिकोणबाट जनतासँग प्रत्यक्ष जोडिएर आउनु भएको हुँदा सम्पूर्ण दलहरुलाई मिलाएर पहिचनसहितको निणर्यका लागि महत्वपूर्ण काम गर्दै स्थायी सरकार निर्माण हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।
इलामबाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसदको भूमिकामा रहनु भएकी खगेश्वरी पौडेलले चारवटा दलका ४७ जना संसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि सदनमा पेश भएको जानकारी दिनुभयो । त्यसैगरी उहाँले यो सत्ता समीकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत सामेल हुनेमा विश्वास ब्यक्त गर्नुभयो ।
शपथ ग्रहणपछि अबको कोशी प्रदेश सरकार समीकरणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सहकार्यका लागि पार्टीगत छलफल गर्ने मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । साथै कोशी प्रदेशको पुनः नामकरणका सन्दर्भमा पहिचानमा आधारित नामका लागि पहिचानवादीहरुको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने उहाँले वताउनुभयो ।
कोशी प्रदेशमा बन्ने सरकारका लागि नेपाली कांग्रेसले प्रमुख नेतृत्व गरेता पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको हैसियत समान हुने र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा समावेश गर्ने प्रयास जारी राख्ने मुख्यमन्त्री थापाको भनाइ छ ।