बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एनएमसीले बजारमा ल्यायो अर्थोडक्स र सिटिसी चिया

सोमवार, जेठ २९, २०८०
झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले पाँचौं व्यवसायका रुपमा चिया व्यवसायलाई अघि सारेको छ । आइतबार संस्थाको बिर्तामोड कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमसीले पछिल्लो व्यवसायका रुपमा चिया व्यवसाय शुरु गरिएको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । एनएमसीले २०७८ साल असार महिनादेखि झापाको मेचीनगर ५ सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग शुरु गरेको उहाँले बताउनुभयो । एनएमसीले चिया व्यवसाय विस्तारका क्रममा इलामका तीनवटा चिया सहकारी संस्थाहरूसंग सहकार्य गर्दै किसानद्वारा उत्पादित हरियो पत्ती खरिद तथा प्रशोधन गरेर २०७८/७९ मा ७५ हजार केजी अर्थोडक्स चिया उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीसमेत गरिसकेको छ । संस्थाले हालै सिटिसी चिया प्याकेजिङ उद्योगसमेत सञ्चालन गरेर बजारमा बिक्री शुरु गरेको एनएमसीका अध्यक्ष उप्रेतीले बताउनुभयो । एनएमसीले आफ्नै सदस्यहरूबाट उत्पादित हरियो पत्ती खरिद गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गुणस्तरीय हरियो पत्तीका लागि मूल्य पनि सोही अनुसारकै किसानहरूलाई दिने गरिएको उप्रेतीले जानकारी दिनुभयो । चियाका पारखीहरूका लागि एनएमसी सिटिसी चिया उपयुक्त हुने उहाँको दाबी छ । एनएमसीले केही समयपश्चात आफ्नै संस्थाद्वारा उत्पादित मह पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक बर्षदेखि कम्तीमा ४० प्रकारका बस्तु एनएमसीकै ब्रान्डमा एनएमसी सहकारी पसलहरूमा बिक्रीका लागि राखिने संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
सम्बन्धित खबर