बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ऊर्जाशिल रामधुनी आमा समूहको आयोजनामा उद्घोषण तथा क्षमता अभिबृिद्ध तालिम सम्पन्न

शुक्रवार, जेठ २६, २०८०
झापाको विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा ५ दिने उद्घोषण तथा क्षमता अभिबृिद्ध तालिम नगरको वडा नं. ४ मा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । ऊर्जाशिल रामधुनी आमा समूहको आयोजनामा सञ्चालन गरिएको तालिममा सहजकर्ताको भूमिकामा सञ्चारकर्मी स्वस्तिका आचार्य रहनु भएको थियो । जेष्ठ २२ गतेदेखि सञ्चालन भएको तालिममा ७० जना सदस्यहरुको सहभागिता रहेको संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकालले जनाकारी दिनुभयो । संस्थाले सदस्यहरुबाट आर्थिक संकलन गरेर अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई कपडा वितरण गर्नुका साथै बृद्धाश्रममा रहनु भएका आमा बुवाहरुलाईसमेत सहयोग गरेको अध्यक्ष ढकालले जानकारी दिनु भयो । तालिम समापन कार्यक्रममा वोल्दै तालिममा सहभागी कमला नेपालले नगरपालिकाले समूहमा आवद्ध महिलाहरुका लागि आर्थिक सहयोगमार्फत सीपमूलक तालिमको आयोजना गरेकोमा खुशी ब्यक्त गर्नुभयो । तालिममा सहभागी हुन पाएपछि आफ्ना कुराहरु निर्धक्क राख्न सक्ने भएको उहाँको भनाइ छ । महिलाहरु राज्यका विभिन्न तह र तप्कामा रहेको उल्लेख गर्दै विर्तामोड चिल्ड्रेन हस्पिटलकी अध्यक्ष लीला मैनालीले महिलाहरु पुरानो परम्पराका कारण वाँधिएको अवस्थाबाट माथि उठेर ब्यासमा वसेर पुराण भन्न सक्ने भएको वताउनुभयो । ५ दिन सम्म सञ्चालन भएको तालिममा सहभागिहरुले सिकेको कुरा तालिममा विभिन्न कारणले सहभागी हुन नसकेका सदस्यहरुलाई सिकाउन आग्रह गर्दै विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विर्तामोडका अध्यक्ष मेघराज वाँस्तोलाले सिकाइलाई विस्तार गर्न आग्रह गर्नु भयो । ऊर्जाशिल रामधुनी आमा समूहले राम्रो काम गरेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन मेची आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले समूहलाई आग्रह गर्नु भयो । नगरपालिकाले सुनौलो अवसर प्रदान गरेको बताउँदै अध्यक्ष गुरुङले अबका कार्यक्रमहरु यसैको बलमा रचनात्मक बनाउनसमेत आग्रह गर्नुभयो । ५ दिन सम्म सिकेको कुरालाई दैनिक जिवनमा लागु गर्न सकेमा समाज परिवर्तन सम्भव रहेको बताउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायव उपरिक्षक सुरज कार्कीले कुनै पनि विषय वस्तुका बारेमा बोल्नु पूर्व त्यस विषयको राम्रो ज्ञान लिन जरुरी रहने हुँदा तालिमले अध्ययनशील बनाउने कुरा वताउनु भयो । घर परिवार चलाउन महिलाहरुले बिहानदेखि बेलुकासम्म विभिन्न झिना मसिना काम सम्पन्न गर्नु पर्ने बाध्यता रहे पनि पुरुषहरुले यो काम महिलाहरुले गर्न सक्दैनन् भन्ने जमाना नरहेको बताउँदै विर्तामोड नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पवित्रा महतारा प्रसाईले सति प्रथा अन्त्य गर्न देखि महिलाहरुको हक र हितमा भएका आन्दोलनहरुको उपलब्धि स्वरुप बल्ल महिला अधिकार स्थापित भएको वताउनु भयो । कार्यक्रममा वोल्ने क्रममा नगर प्रमुख प्रसाईले महिलाहरुलाई पुरुष सरह बाहिरी काममा निस्कन घरका अत्यावश्यक कामका कारण सहज नहुनेसमेत वताउनु भयो । ऊर्जाशिल रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले अध्यक्षता गरेको कार्यक्रममा समुहकी सहसचिव निरा कट्टेलले स्वागत गर्नु भएको थियो भने संस्थाकी सचिव टिका प्रसाई मैनालीले सञ्चालन गर्नु भएको थियो । सोही अवसरमा समुहलाई विभिन्न सामग्री उपलब्ध गराएर सहयोग गर्नुहुने समाजसेवी नविन सिटौला लगायत सहयोगी मनका धनी प्रतिष्ठित ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । साथै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।कार्यक्रमकै अवसरमा भक्ति प्रसाद सिटौला, कुल प्रसाद सङ्ग्रौला, जलकुमर , मेघराज बास्तोला, लिला मैनाली, सङ्गिता प्रसाइ र अमृतलाल राजबन्शी लाइ मानार्थ सदस्यता प्रदान गरिएको छ ।
सम्बन्धित खबर