बुधवार, मंसिर १९, २०८१
Sancharmanch

विर्तामोडले गर्यो शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन

मङ्गलवार, चैत २१, २०७९
बिर्तामोड नगरपालिकाले शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अनुगमन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सोमबार वडा नम्बर १० मा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गर्नु भयो । असिना पानीले अधिकांसको घरको छाना र कृषी बालीमा ठुलो क्षति पुर्याएको छ । नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले तेलगानी टोलमा रहेको सुकुम्बासी वस्ती लगाायतका विभिन्न टोलमा पुगेर क्षतिको बारेमा जानकारी लिनु भएको हो । नगर प्रमुख प्रसाईले टोल विकास संस्था मार्फत जतिसक्दो चाँडौ विवरण संकलन गर्न आग्रह गर्नु भयो । अनुगमनका क्रममा सुकुम्बासी वस्ती र बाँकी रहेका टोलमा रहेका अधिकांस घरहरुको छानो उडाएको, प्वाल परेको पाइएको छ । उनीहरुलाई तत्कालका लागि राहत स्वरुप त्रिपाल वितरणका लागि आवश्यक तयारी गरीएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिनु भयो । असिना पानीले मकै, तरकारी र केरा बगानमा ठुलो क्षति पुर्याएको छ । वडा नम्बर १०मा मात्रै करिब एक सय १५ विगाह क्षेत्रफलमा मकै नष्ट भएको नगरका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले जानकारी दिनु भयो । उहाँले कृषि ज्ञान केन्द्रसंगको समन्वयमा असिना प्रभावित क्षेत्रमा गुगल म्याकिङ गरेर वास्तविक तथ्याङ्क संकलनको काम भईरहेको बताउनु भयो । बिर्तामोडको वडा नम्बर २,८,९ र १० मा असिनाले क्षति पुर्याएको छ । प्रभावित किसानहरुले क्षतिको विवरण संकलन गरेर राहतको व्यवस्था मिलाउन जनप्रतिनिधिहरुसंग माग गरेका छन् । सरकारले यस अघि धानमा भएको क्षतिको राहत नदिएको गुनासो गर्दै उनीहरुले यस पटक भने त्यसो हुन नदिन आग्रह गरेका छन् । बिर्तामोड लगायत झापाका अधिकांस पालिकाले धानमा भएको क्षतिको विवरण संघिय सरकारलाई पठाएको र सरकारले बैंक खाता खोल्नसमेत लगाएर वेवास्था गर्दा कृषक मर्कामा परेका छन् । बिर्तामोड नगरपालिकाले आइतबार वडा नम्बर २मा राहत स्वरुप ८० थान त्रिपाल वितरण गरेको छ ।  
सम्बन्धित खबर