शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

विर्तामोडमा ५ वर्ष यता विपन्न आवास अन्तर्गतका ६ सय घर बने

बुधवार, माघ २५, २०७९
बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको अनुगमन गरेको छ ।
नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामांग, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले  घरहरुको अनुगमन गरेको हो ।
यस वडामा ६ वटा घर निर्माणका लागि  गत आर्थिक वर्षमा छुट्टीएको बजेटबाट बनेका घरहरुको अनुगमन गरीएको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । उहांले निर्बाचन लगायत विविध कारणले घर निर्माणमा ढिलाई भएको बताउनु भयो ।
प्रति घर २ लाख २० हजारका दरले जम्मा १३ लाख २० हजार रुपैयांमा ६ वटा घर निर्माणका लागि बजेट छुटिएको थियो । तर निर्माणका क्रममा नगरले दिएको बजेटको अतिरिक्त रकम घरधनी आफैले थप गरेरसमेत घर निर्माण गरीएकोले फरक फरक ढंगका घरहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिनुभयो ।
वडाका कर्ण बहादुर शेर्मा, प्रेमा कुमारी सार्की, शोवी सार्की, उमा दाहाल, मन्जु सोरेन र धनमाया निरौलाको घर निर्माण गरिएको हो ।
नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका भित्र विगत ५ वर्ष यता जनता आवास कार्यक्रम अन्तर्गत ६ सय वटा भन्दा बढी घरहरु निर्माण भएको जानकारी दिनुभयो । उहांले यस चालु आर्थिक वर्षमा समेत सहारा नेपाल र ह्यावी ट्याट नेपालसंगको सहकार्यमा घरहरु निर्माण हुने बताउनु भयो ।
उप प्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका जनताको आवास सुनिश्चित गर्ने तर्फ रहेको र आगामी दिनमा समेत यसैगरी घर निर्माण गर्दै जाने बताउनु भयो ।
सम्बन्धित खबर